आईएमईआई नम्बर दर्ता भए/नभएको हेरेर मात्रै मोबाइल सेट किन्नुहोला, नत्र मोबाइल चल्दैन

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २५ गते ८:२१
आईएमईआई नम्बर दर्ता भए/नभएको हेरेर मात्रै मोबाइल सेट किन्नुहोला, नत्र मोबाइल चल्दैन

नयाँ मोबाइल सेट खरिद गर्ने योजना बनाउनुभएको छ भने नेपाल दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता भए/नभएको यकिन गरेर मात्रै खरिद गर्नुहोला । किनभने, साउन १ गतेदेखि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्दैनन् ।

सरकारले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई निरूत्साहित गरी यसलाई थप व्यवस्थित गर्ने प्रयोजनका लागि नेपालमा मोबाइल सेटको आयात गर्नुपूर्व अनिवार्य रूपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्नुपर्ने तथा आईएमईआई नम्बर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने गरी त्यस कार्यलाई तीव्रताका साथ अघि बढाएको पनि जनाएको छ ।

प्राधिकरणले व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका हकमा ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नु नपर्ने स्पष्ट पारेको छ ।

प्राधिरणका प्रवक्ता सन्तोष पौडेलले आउँदो साउन १ गतेदेखि खरिद गरिने नयाँ मोबाइलको आईएमईआई नम्बर दर्ता भए/नभएको हेरेर मात्रै खरिद गर्न सुझाव दिए । उनका अनुसार हाल प्रयोगमा रहेका मोबाइलहरुको आईएमईआई नम्बर पुनः दर्ता गर्नु नपरे पनि साउन १ गतेदेखि खरिद गरिने मोबाइलको आईएमईआई नम्बर दर्ता भने अनिवार्य छ ।

उनका अनुसार हाल सञ्चालनमा रहेका मोबाइलहरुको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने भए पनि तत्काल प्राधिकरणको दर्ता प्रणालीमा समस्या देखिएकाले दर्ता हुन नसकेको हो । सोही कारणले सञ्चालनमा रहेका मोबाइलको आईएमईआई नम्बर दर्ता नभए पनि ती मोबाइल प्रयोग गर्न सकिने उनले बताए । “अहिले नेपालमा चलिरहेका मोबाइलहरुको आईएमईआई नम्बर दर्ता नभए पनि बन्द हुँदैन । आईएमईआई नम्बर दर्ता गर्ने प्रणालीमा समस्या आएको छ । चलिरहेका मोबाइलको आईएमईआई नम्बर दर्ता नगर्दा मोबाइल चल्दैन कि भनेर आत्तिनु पर्दैन” उनले भने, “अहिले रोकिएको दर्ता प्रणाली सुचारु भएपछि आईएमईआई नम्बर दर्ता भने गर्नुपर्छ ।”

आईएमईआई नम्बर दर्ताका लागि प्रणालीमा भएको समस्या समाधान हुन केही दिन लाग्न सक्ने उनले बताए । अनलाइनबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । आईएमईआई नम्बर दर्ता गर्न कुनै शुल्क लाग्ने छैन ।

नयाँ मोबाइल खरिद गर्नुपूर्व नै व्यवसायीहरुले सम्बन्धित मोबाइलको आईएमईआई नम्बर दर्ता गर्छन् । तर, दर्ता भएको छ वा छैन भन्ने यकिन गरेर मात्रै नयाँ मोबाइल किन्न पौडेलले आग्रह गरे । उनले नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आईएमईआई नम्बर दर्ता भएका मोबाइल सेट खरिद गर्दा अनिवार्य रूपमा भ्याट बिल लिन पनि आग्रह गरे । भ्याट बिल लिएपछि अनावश्यक झन्झट एवं अन्योलमा नपरिने उनले बताए ।

व्यक्तिगत तवरले विदेशबाट ल्याइएका र प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरुद्ध आईएमईआई नम्बर दर्ता प्रणाली सुचारु भएपछि थप उचित समय प्रदान गरी आईएमईआई नम्बर दर्ता गर्ने प्रबन्ध मिलाइने प्राधिकरणले जनाएको छ ।

आफ्नो मोबाइलको आईएमईआई नम्बर https://eir.nta.gov.np/main/individual मा दर्ता गर्न सकिन्छ । तर, अहिले प्रणालीमा प्राविधिक समस्या आउँदा दर्ता हुन नसकेको प्राधिकरणले जनाएको छ ।

आईएमईआई नम्बर दर्ता गरेपछि अवैधानिक माध्यमबाट बजारमा आएका मोबाइल नचल्ने, आपराधिक प्रयोगमा मोबाइलको प्रयोग नहुनेजस्ता कारणले यो व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २०७८ असार २५ गते ८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI