No ads found for this position

कोपा अमेरिका फाइनल : दुई सुपरस्टार मेसी र नेमारको भिडन्त

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २५ गते १८:४१
No ads found for this position
कोपा अमेरिका फाइनल : दुई सुपरस्टार मेसी र नेमारको भिडन्त
No ads found for this position

काठमाडौं । बार्सिलोनाका पूर्व सहकर्मी लिओनल मेसी र नेमार आइतबार हुने कोपा अमेरिकाको फाइनलमा एकापसमा भिड्दैछन् । दुवै खेलाडी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् ।

ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोना जस्तै मेसी र नेमारले पनि अहिलेसम्म कोपा जित्न सकेका छैनन् । रियो दि जेनेरेयोस्थित आइकोनक माराकान स्टेडियममा फाइनल हुँदा यो तथ्य अब एक खेलाडीका लागि भने परिवर्तन हुनेछ ।

६ पटकका बालोन डे ओर विजेता मेसी चौथो पटक कोपा अमेरिका फाइनल खेल्दैछन् । र, सम्भवतः उनका लागि उपाधि जित्न यो अन्तिम अवसर हुन सक्छ ।

ब्राजिलमै भइरहेको ४७औं संस्करणको कोपामा मेसीले आफ्नो टिमको लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ४ गोल गर्नुका साथै ५ गोलका लागि अवसर बनाएका छन्  । दुवै विधामा उनी शीर्ष स्थानमा छन् ।

तर ३४ वर्षीय मेसीका लागि यो अन्तिम कोपा हुन सक्नेछ भने अर्को वर्ष हुने विश्वकप अन्तर्राष्ट्रिय फुटबलमा उनको लागि अन्तिम हुन सक्नेछ ।

अहिलेसम्म हेर्ने हो भने फाइनलले मेसीलाई निराश बनाइरहेको छ । मेसीले सन् २००७, २०१५ र २०१६ को कोपा फाइनल हारेका छन् । यस्तै २०१४ को विश्वकपमा पनि फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो ।

अधिकांशले भन्ने गरेका छन्– अर्जेन्टिनाका लागि केही जित्नु नै मेसीको लागि बाँकी रहेको व्यावसायिक लक्ष्य हो । ‘हामी उनलाई यो लक्ष्य पूरा गर्नबाट रोक्नेछौं,’ ब्राजिलियन सेन्टर ब्याक माक्र्विन्हवसले भनेका छन्, ‘मेसीले जस्तै हामीसँग पनि त्यस्ता खेलाडी छन् जो उपाधि जित्न लायक छन् । हाम्रो आफ्नै ने (नेमार) जस्तै जो पछिल्लो पटक कोपामा थिएनन् ।’

२९ वर्षका नेमारका लागि अझ केही समय बाँकी छ । तर दुई वर्षअघि ब्राजिलले पेरुलाई फाइनलमा ३–१ ले पराजित गर्दै नवौं पटक कोपा जित्दा उनी घाइते थिए र कोपामा सहभागी थिएनन् ।

तर दुई सुपरस्टार खेलाडी शनिबार फरक टिमबाट मैदान उत्रिँदा यो खेल दुई हेभिवेट्सको बीच क्लासिक खेल हुनेछ । ‘हामी हाम्रो एटरनल राइभल विरुद्ध फाइनल खेल्न गइरहेका छौं । दक्षिण अमेरिकाका दुई शक्तिशाली राष्ट्रिय टिम । र, हामीलाई आशा छ यो उत्कृष्ट खेल हुनेछ,’ अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कोलानीले भने ।

‘ब्राजिल भर्सेस अर्जेन्टिना फुटबलको खेलभन्दा पनि धेरै कुरा हो । यी जर्सीले विश्वलाई आफ्नो खेल हेर्न माहोल बनाउँछ । जसले ब्राजिल र अर्जेन्टिनाको इतिहासलाई प्रतिनिधित्व गर्छ,’ मार्किन्होसले थपे ।

अर्को रोचक तथ्य के छ भने यी दुई राष्ट्र कोपा अमेरिकाको सबैभन्दा सफल टिम होइनन् । उरुग्वेले सर्वाधिक १५ पटक उपाधि जित्दा अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ । ब्राजिलले ९ पटक मात्र जितेको छ । कोपाको ४७औं संस्करणसम्म आइपुग्दा नकआउट फर्म्याटमा यी दुई टोली चौथो पटक फाइनल खेल्न लागेका हुन् । जसमा १९३७ मा अर्जेन्टिना विजयी भएको थियो भने २००४ र २००७ मा ब्राजिलले जितेको थियो ।

इतिहास हेर्ने हो भने अहिलेसम्म यी दुई टोली १०० भन्दा बढी पटक खेलिसकेका छन् ।

यसपटक कोपामा यी दुई टिम सबैभन्दा बलिया देखिएका छन् । यद्यपि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई हराउन पेनाल्टी सुटआउटको सहारा लिनुपर्‍यो ।

म्यानचेष्टर सिटीबाट खेल्ने गाब्रिएल जेसस प्रतिबन्धमा रहे पनि सेमिफाइनलमा पेरुलाई पराजित गर्दा ब्राजिलले लिभरपुलका रोवर्ट पिर्मिनो, फ्लेमेङ्गोका गाब्रिएल बारबोसा र रियल मड्रिडका भिनिसियस जुनियरलाई बेन्चमै राखेको थियो ।

मिडफिल्डमा लिभरपुलका फाबिन्हो पनि खेलेनन् । म्यानचेष्टर युनाइटेडका फ्रेडले अवसर पाएका थिए ।

यस्तै पेरिस सेन्ट जर्मेनका विंगर एन्जल डि मारियाले अधिकांश समय बेन्चमा रहेर शुरुवात गरेका छन् । यस्तै बार्सिलोनामा अनुबन्ध भएका सर्जियो अगुएरोले पनि बिरलै अवसर पाएका छन् ।

मेसी र इन्टर मिलानका लाउटारो मार्टिनेजले अर्जेन्टिनाको अट्याकिङ सम्हालिरहेका छन् । तर उनीहरुसँग क्षमता र सिर्जना पनि छ । ‘अर्जेन्टिना भनेको लाउटारो र मेसी मात्र होइन । हामीले उनीहरुलाई मात्र ध्यान दिएर हुँदैन,’ ब्राजिल तथा रियल मड्रिडका मिडफिल्डर कासेमिरोले भने,’ उनीहरु राम्रा खेलाडी हुन्, विश्वस्तरीय खेलाडी हुन् तर यदि अर्जेन्टिना फाइनल पुगेको छ भने यो उनीहरुको सबै समूहले गर्दा हो, हामीले त्यसलाई सम्मान गर्नुपर्छ ।’

करियरकै उपाधिको खडेरी तोड्ने लक्ष्यमा रहेका मेसीले शनिबार अर्को इतिहास पनि बनाउन सक्नेछन् । मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म ७६ गोल गरेका छन् र दक्षिण अमेरिकी राष्ट्रहरुमा ब्राजिलका पेलेको ७७ गोल भन्दा एक गोलले मात्र पछि छन् ।

प्रकाशित : २०७८ असार २५ गते १८:४१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI