ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २७ गते ८:३०
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आइबार बिहान भएको खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।

अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि विंगर एन्जल डी मारियाले गोल गरे । उनले खेलेको २२ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासमा गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेन । ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन । गोलरक्षक एमिलिआनो मार्टिनेजले केहि सुन्दर बचाउ गर्दै अर्जेन्टिनाको अग्रता जोगाएका थिए ।

५२ औं मिनेटमा रिचार्लीसंले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै गोललाई मान्यता दिएनन् । लगत्तै गोलरक्षक एमिलिआनो मार्टिनेजले रिचार्लीसनको प्रहारमा उत्कृष्ट बचाउ गरे ।  खेल सकिन एक मिनेट बाँकी छदा मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका खेर फालेका थिए ।

अर्जेन्टिनाले सन् १९९३ पछि मुख्य प्रतियोगिताको उपाधि पहिलोपटक जितेको हो । पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो । त्यसपछि अर्जेन्टिना चार पटक कोपा र एक पटक फिफा विश्वकपको फाइनलमा पुगेपछि उपाधिबाट बन्चित हुँदै आएको थियो।

लियाेनेल मेसीका लागि पनि पहिलो मुख्य प्रतियोगिताको उपाधि हो । मेसीले यसअघि अर्जेन्टिनाको जर्सीमा चार वटा फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् ।

प्रकाशित : २०७८ असार २७ गते ८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI