दुई लाख ७७ हजार बढीले लगाए भेरोसेलको दोस्रो मात्रा खोप

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २७ गते ९:१०
दुई लाख ७७ हजार बढीले लगाए भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं- कोरोनाविरुद्धको भेरोसेलको दोस्रो मात्रा खोप शुक्रबारसम्म २ लाख ७७ हजार १०६ जनाले लगाएका छन्।

परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले पाँच दिनको अवधिमा देशभरका ३ हजार ८९७ वटा खोप केन्द्रबाट २ लाख ७७ हजार १०६ जना व्यक्तिले दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएको जानकारी दिए।

उनका अनुसार पहिलो दिन असार २२ गते एक लाख ३ हजार ६९४, असार २३ गते ८५ हजार ५१३, असार २४ गते ३४ हजार ८६२ हजार, असार २५ गते ३७ हजार ४२९ र २६ गते १४ हजार १८८ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्।

गत २५ जेठ देखि पहिलो डोज खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो डोज लिएर दोस्रो लगाउन छुटेकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप दिन सुरु गरिएको थियो।

जेठ २५ गते उपत्यकाका ६० देखि ६५ र उपत्यकाबाहिर ६४देखि ६५ वर्ष उमेरसमुहका ४ लाख ६० हजार व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइएको थियो।

स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भेरोसेल खोप लगाएर  समय पुगी दोस्रो मात्रा लगाउन छुटेका र २५ गते लगाएका समेत गरी करिब ५ लाख व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाउने जनाएको छ।

स्वास्थ्य मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार हालसम्म २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र १० लाख १ हजार ७५९ जनाले दोस्रो मात्रा अथार्त  कोरोना विरुद्धको पूणर् खोप  पाएका छन्।

प्रकाशित : २०७८ असार २७ गते ९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI