शौचालयको ट्यांकीभित्र गाडिएको अवस्थामा सुजिताको शव ३७ दिनपछि फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २७ गते १४:१२
शौचालयको ट्यांकीभित्र गाडिएको अवस्थामा सुजिताको शव ३७ दिनपछि फेला

जनकपुरधाम ।  महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमपुराकी सुजिता ठाकुरको हत्या भएको एकमहिना सात दिनपछि शव फेला परेको छ ।

आइतबार प्रहरीले निर्माणाधीन शौचालयको ट्याङ्कीभित्र गाडिएको आवस्थामा शव फेला पारेको हो ।  सुजिताको हत्या गरी काठ मिलको लागि स्टोर गरिएको स्थानमा शौचालय निर्माणको काम भइरहेको छ ।

सुजिताको हत्या गरेर सोही ठाउँमा निर्माणाधीन शौचालयको ट्याङ्कीभित्र गाडेर माथिबाट ढलान गरिएको थियो ।

गत जेठ १९ गते राति विवाद भएपछि सुजिताको हत्या गरेको पाइएको छ ।

सुजिता वेपत्ता भएको २३ दिनपछि प्रहरीले घरभन्दा एक किलोमिटर पर आफ्नै खेतमा गाडिएको अवस्थामा मानव अवशेष बरामद गरेको थियो ।

तर, शव फेला परेको थिएन ।

असार १३ गते प्रहरीले उत्खनन् गर्दा केश, रगतले रातो भएको माटो, मलखाद, कपडा र शव गलाउन प्रयोग गरिएको नुनको प्लास्टिक भेटिएको थियो ।

तर प्रहरीले सुजिताकै केश वा कपडा भएको एकिन गर्न सकेको थिएन ।

हत्या आरोपमा पक्राउ गरेका सुजिताका देवर र श्रीमान्ले कुनै सुइँको दिएनन् ।

माइती पक्षले असार २० गते ६ जनाविरुद्ध किटानी जाहेरी दिएपछि छिमेकीको सहयोगमा प्रहरीले अपराधि पत्ता लगाएको हो ।

छिमेकीको नाम गोप्य राखिएको छ । प्रहरीले अनुसन्धानमा असर पर्ने भएकाले नाम खुलाएको छैन ।

प्रदेश प्रहरीका डीआईजी उमेश रञ्जितकारका अनुसार पहिलेकै ठाउँमा शव गाडिएको थियो ।  असार पहिलो साता माइती पक्षलाई शंका लागेपछि उक्त घडेरीमा पुगेर उत्खनन् गरिएको थियो ।

पहिले खेतमा गाडिएको शव गन्हाउन थालेपछि शौचालयमा लगेर गाडेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दियो ।

के हो विवाद ? 

अण्शबण्डा गर्ने विषयमा पटक पटक विवाद भएको बुझिएको छ । यसअघि सुजितालाई निर्घात कुटपिट गरिएको पाइएको छ ।

तर त्यो घटनाको मिलापत्र जिल्ला प्रहरी कार्यालय महोत्तरीमै भएको थियो । माइती पक्षकाअनुसार देवर रुपेश ठाकुरसहित उनकी आमा, बुबाले कुटपिट गरेको पाइएको थियो । महोत्तरी प्रहरीमा अबदेखि कुटपिट नगर्ने सहमति भएको थियो ।

सुजिताका श्रीमान् मुकेश ठाकुर ‘कमजोर अवस्था’ का रहेका छन् ।

गत जेठ १९ गते घरायसी विवाद भएको थियो । विवाद भएको दिन सुजितालाई ससुरा र देवरले निर्घात कुटपिट गरे । सुजिताले त्यसको प्रतिकार गरिन् । विवाद भएको भोलिपल्ट उनी परपुरुषसँग भागेको हल्ला चलाइयो ।

दुई सन्तानकी आमा सुजितामाथि घरमा पटक पटक कुटपिट हुने गरेको र ज्यान मार्ने धम्की दिने गरेको भन्ने थाहा पाएका माइतीहरूले परपुरुषसँग भागेको भन्ने कुरा पत्याएनन् ।

माइती पक्ष हत्याको किटानी जाहेरी लिएर असार ७ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुग्यो ।

सुजिताका बुबा कामेश्वर पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन आनाकानी गरेपछि उनीहरूले महिला सेलमा निवेदन दिए ।

एकजना सुजिताको पुरुष साथीलाई प्रहरीले पक्राउ गरे पनि उसले भगाएको संलग्नता देखिएन । त्यसपछि जिल्ला प्रहरीले बेवास्ता ग¥यो ।

माइती पक्षले सुजिता जान सक्ने सम्भावित सबै ठाउँमा खोजी गरे, केही पत्तो लागेन । कामेश्वरले नेताहरू पनि गुहारे । सुजिता बेपत्ता भएको तेस्रो साता कामेश्वरले स्थानीय सामाजिक अभियानकर्ता सरोज राय र गुञ्जा रायसँग भेट गरे ।

रायद्वयले सक्रियता बढाएपछि असार दोस्रो सातादेखि प्रहरी अनुसन्धान शुरू भयो । किटानी जाहेरी दर्ता भयो ।

जाहेरीमा घरपक्षका पाँचजना मिलेर हत्या गरेको र हत्यामा एक जना छिमेकीले सहयोग गरेको उल्लेख गरियो ।

सुजिताका दुई सन्तान छन्, ९ वर्षकी छोरी आँचल र पाँच वर्षका छोरा रौनक । अहिले दुवै जना मावलीमा छन् । सुजिताकी आमा सीतादेवीले नाती रौनकलाई घटनाबारे सोध्दा पोल खुलेको देखिने भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा रौनकले आमालाई काठ काट्ने मेसिनले घाँटी रेटेर अंकल र हजुरबुबाले मारेको बताएका छन् ।

आमालाई मारेर फ्रिजभित्र राखेको र आफूलाई अर्को कोठामा सुत्न पठाएको रौनकले बताएका छन् ।

नातीको ज्यान जोगाउन गुहार

सुजिताको शव बरामद भएपछि आज उनकी आमा सुनिताले पटक पटक नातीको ज्यान जोगाइदिन आग्रह गरिन् । सवारी चढेर कोही घटनास्थलमा आउँदा उनले भक्कानिएर नाती नातिनीको ज्यान बचाउन गुहार माग्छिन् ।

छोरीको हत्यापछि उनी बेला बेला बेहोस् भइरहेकी छन् ।

सम्पतिका लागि हत्या 

माइती पक्षले सम्पति हत्याउनको लागि छोरीको हत्या भएको दाबी गरेका छन् । सुजिताका बुबा कामेश्वर पाण्डेका अनुसार उनका देवर रुपेश ठाकुरले आफ्नी सासुको नाममा एक विघा खेत रजिष्ट्रेशन पास गरेको पाइएको छ ।

सुजिताका श्रीमान् मुकेश कमजोर भएकाले केही बोल्न सकेनन् ।

त्यसको सुजिताले विरोध गरेकी थिइन् ।

त्यही विषयमा पटक पटक विवाद हुँदै आएको थियो । सोही सम्पत्ति हत्याउन सुजिताको हत्या गरेको पाइएको छ ।

ससुरा अझै फरार

सुजिता हत्यापछि उनका ससुरा पतिराम अझै फरार छन् । हत्यामा उनलाई मुख्य योजनाकार भनिएको छ ।
 

प्रकाशित : २०७८ असार २७ गते १४:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI