६ दशकको राजनीतिक जीवन, पाँचौं पटक प्रधानमन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २९ गते २२:५२
६ दशकको राजनीतिक जीवन, पाँचौं पटक प्रधानमन्त्री

२९ असार, काठमाडौं । पाँचौं पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्म वि.सं. २००३ जेठ ३१ गते डडेल्धुरा जिल्लाको साविकको असिग्राम गाविस वडा नम्बर ५ मा भएको हो ।

गाउँ नजिकै रहेको असिग्राम प्राथमिक विद्यालयमा प्राथमिक तहको अध्ययन गरेका देउवाले डडेल्धुरा सदरमुकाममा रहेको महेन्द्र माविबाट निम्न माध्यमिक तहको अध्ययन पूरा गरे । उनले माध्यमिक शिक्षा डोटीमा रहेको सीताराम मावि उच्चकोटबाट लिएका हुन् । स्कूले जीवनबाट नै देउवा नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भइसकेका थिए ।

देउवा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका हुन् । २०१७ सालको राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा समर्पित देउवा नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को संस्थापक सदस्य हुन् भने नेविसंघको पहिलो निर्वाचित अध्यक्ष पनि ।

उनी २०२८ असोज १ देखि २०३६ फागुन २९ गतेसम्म नेविसंघको अध्यक्ष भए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक देउवाले सन् १९८८–८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लन्डन स्कूल अफ इकोनोमिक्समा रिसर्च फेलोसमेत गरेका हुन् ।

पहिलो पटक २०४८ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए देउवा । वि.सं. २०४८ देखि २०५१ सम्म गृहमन्त्रीको पद सम्हालेका देउवा २०५२ देखि २०६१ सालसम्म तीनपटक प्रधानमन्त्री निर्वाचित भएका थिए ।

देउवा नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को संस्थापक सदस्य र नेविसंघको पहिलो निर्वाचित अध्यक्ष हुन् ।

उनी पहिलो पटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भए । त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री रहे । असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई पदबाट बर्खास्त गरेका थिए । देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे ।

देउवा चौथो पटक २०७४ जेठ २३ देखि २०७४ फागुन ३ सम्म प्रधानमन्त्री भएका थिए । देउवा नेतृत्वको सरकारले तीन तहको निर्वाचन गरेर संविधान कार्यान्वयनको बाटो खुलेको थियो ।

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेश (कदमजम) को अवधारणा ल्याएका थिए । त्यस्तै उनकै पालामा कमैया मुक्ति घोषणा हुनुका साथै विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग जस्ता विभिन्न आयोग गठन भएका हुन् ।

देउवा पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठन भएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बने । २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन अघि कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी वरिष्ठ नेता भए । कांग्रेसको राजनीतिमा ६ दशकदेखि अनवरत सक्रिय देउवा २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनबाट सभापति निर्वाचित भए ।

देउवा २०४८ सालदेखि भएका सबै आमनिर्वाचनमा गृह जिल्ला डडेल्धुराबाट विजय हासिल गर्दै आएका छन् । उनी प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ सालको आमनिर्वाचनमा विजयी भएका थिए ।

त्यस्तै २०६४ मा सम्पन्न पहिलो संविधानसभामा डडेल्धुरा र कञ्चनपुर–४ तथा २०७० सालमा भएको दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली–६ बाट निर्वाचित देउवा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने डडेल्धुराबाट विजयी भएका हुन् ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष रहेका उनी २०१३ देखि अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले प्रजातन्त्र पुनर्वहालीका लागि पटक–पटक भएका आन्दोलनका क्रममा १० वर्ष १० महीना जेलजीवन विताएका छन् ।

देउवा पत्नी डा. आरजू राणा पनि राजनीतिमा सक्रिय छिन् । उनी पूर्व सांसद पनि हुन् । देउवाका एक छोरा जयवीरसिंह देउवा बेलायतमा अध्ययन सकेर अहिले नेपालमै छन् ।

प्रकाशित : २०७८ असार २९ गते २२:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI