खुसीयाली मनाउने क्रममा एकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ३० गते १७:२९
खुसीयाली मनाउने क्रममा एकको मृत्यु

रोम : ५३ वर्षपछि दोस्रो पटक युरोकप जितेको खुसीयाली मनाउने क्रममा इटालीको रोममा एक जनाको मृत्यु भएको छ भने सयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

इटाली प्रहरीका अनुसार सिसिली क्याल्टागिरोनमा भएको कार दुर्घटनामा एक २२ वर्षीय युवाको मृत्यु भएको छ। उनी विजयोत्सवमा सहभागी हुन रोममा गइरहेका थिए। यसैगरी मिलानमा १५ मानिस घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। अतिशबाजी गर्ने क्रममा एक व्यक्तिले आफ्नो तीन औंला गुमाएका छन्।

यसैगरी इटालीको दक्षिणी सहर फोगियामा एक व्यक्तिले अन्धाधुन्ध फायर गर्दै मोटरसाइकलमा भागेका थिए। त्यहाँ भएको भागदौडमा दर्जनौं व्यक्ति घाइते भएको जनाइएको छ। एक ६ वर्षीया बालिका गम्भीर रहेको प्रहरीले जनाएको छ।

इटालीले ५३ वर्षपछि युरोकप फुटबलको उपाधि जितेको थियो। सोमबार बिहान लन्डनमा भएको फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै दोस्रो पटक युरोकपको ट्रफी उचालेको थियो। इटालीले ५३ वर्षपछि युरोकप फुटबलको उपाधि जितेको हो। इटालीले १५ वर्षपछि मुख्य ठूलो प्रतियोगिताको उपाधि जितेको हो। सन् २००६ मा इटालीले विश्वकप फुटबलको उपाधि जितेको थियो। सन् १९६८ मा युरोकप जितेको इटालीले सन् २००० र सन् २०१२ मा पनि युरो फाइनल खेलेको थियो। तर, त्यतिबेला इटाली उपविजेतामै सीमित बनेको थियो। इटाली सन् २००० मा फ्रान्स र २०१२ मा स्पेनसँग पराजित भएको थियो।

युरोकपको उपाधिसँगै इटाली ३४ खेलमा अपराजित रहन सफल भएको छ। इटालीले यसअघि ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भंग गरेको थियो। इटालीले सन् १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो। इटाली युरोकप र विश्वकपजस्ता मुख्य प्रतियोगिताको सेमिफाइनलमा १०औं पटक पुगेको हो। युरोकपको फाइनलमा स्थान बनाएको भने चौथो पटक हो।

प्रकाशित : २०७८ असार ३० गते १७:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI