खुट्टामा चोट, प्लास्टर गर्नुपर्ने बिरामीलाई रेबिजको खोप !

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १ गते १०:४६
खुट्टामा चोट, प्लास्टर गर्नुपर्ने बिरामीलाई रेबिजको खोप !

परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् ।

खुट्टामा प्लास्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप लगाइदिएको बालिकाका आफन्तले आरोप लगाएका छन् । बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरबाही गरी छोरीको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप लगाए ।

अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको बताइन् ।

अस्पतालका निमित्त प्रमुख मेसु डा. मोहम्मद नुरुल होदाले कोठा अभावका कारण प्लास्टर गर्ने र खोप लगाउने कोठा एउटै रहेकाले खोप लगाउन आह्वान गर्दा प्लास्टरका लागि लाइनमा बसेकी बालिकाका अभिभावकले झुक्किएर खोप लगाउन ल्याएको र स्वास्थ्यकर्मीले पनि उसको पुर्जा नहेरी खोप लगाइदिँदा दुवै पक्षबाट गल्ती हुन पुगेको बताए ।

रेबिजविरुद्धको खोप लगाउँदा स्वास्थ्य जोखिम नहुने भएकाले आत्तिनुपर्ने अवस्था भने नरहेको उनले बताए । खोप लगाउने कर्मचारीलाई तत्काल सचेत गराई अबदेखि यस किसिमका घटना नदोहोर्‍याउने प्रतिबद्धता गराइएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाबारे सूचना पाएलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीसहित स्थलगत जानकारी लिँदै दोषी कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न र चित्तबुझ्दो जवाफ नआए विभागीय कारबाहीका लागि सिफारिस गर्न अस्पतालका निमित्त प्रमुख होदालाई निर्देशन दिए ।

“यो गम्भीर लापरबाही हो, रेबिजविरुद्धको खोपको ठाउँमा अन्य खोप परेको भए बालिकाको स्वास्थ्य जोखिममा पर्न सक्थ्यो । यो खोपले स्वास्थ्य जोखिम नहुने देखिए पनि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दोषी कर्मचारीलाई त्यत्तिकै उन्मुक्ति दिन मिल्दैन,” उनले भने । रासस

प्रकाशित : २०७८ साउन १ गते १०:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI