सिडिओलाई नै गलत सूचना : पत्रकारलाई हैरानी

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १ गते १७:०५
सिडिओलाई नै गलत सूचना : पत्रकारलाई हैरानी

हरि शर्मा/परासी-सिडिओलाई दिइएको गलत सूचनालाई आधार मानेर समाचार लेख्दा पश्चिम नवलपरासीका पत्रकारहरुलाई हैरानी बनाएको छ । खुट्टा भाँचिएर बिहीबार उपचार गर्न पुगेकी सुनवल नगरपालिका–९ की ३ वर्षीया प्रिया कहाँरलाई हेल्थ असिस्टेण्ट नाजमा खातुनले रेबिजको सुई लगाई दिनुभएको थियो । समाचारमा भने हेल्थ असिस्टेण्ट नितिशा कोइरालाको नाम आएको थियो । कोइराला हेल्थ असिस्टेण्ट नभई डाक्टर हुन् ।

अस्पतालले गंभिर त्रुटि गरेपछि त्यसबारे बुझ्न पुगेका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई अस्पतालका कर्मचारीले सुई लगाउने स्वास्थ्यकर्मीको नाम र पद नै गलत दिएका थिए । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले पत्रकारहरुलाई समेत बालिका र स्वास्थ्यकर्मीको नाम दिन आनाकानी गरेका थिए । बालिकाको नाम पाए पनि स्वास्थ्यकर्मीको नाम नपाएपछि पत्रकारहरुले प्रमुख जिल्ला अधिकारीले उपलब्ध गराएको नामलाई आधार मानेर समाचार लेखेका थिए ।‘ सिडिओ साहेबमार्फत स्वास्थ्यकर्मीको नाम लिएर समाचार प्रसारण र प्रकाशित गर्‍यो । आफूलाई बदनाम गर्न गलत नाम आएको भन्दै डा. कोइरालाले आपत्ति जनाउनुभयो ।

स्वभाविक पनि हो । अरु स्वास्थ्यकर्मीहरुले पनि गलत समाचार दिने भन्दै बारम्बार फोन गरेर आक्रोश पोखे । बुझ्दै जाँदा नाम गलत भएको रहेछ । पुन: क्षमाप्राथीसहित समाचारलाई सच्चाएका छौं । रेडियो परासीका स्टेशन म्यानेजर विकास अधिकारीले भन्नुभयो । अर्का पत्रकार गौरिशंकर जयसवालले पनि गलत नामका कारण फोन आएर हैरानी बनाएको भन्नुभयो । ‘स्रोतलाई नै गलत नाम दिइएकाले समाचार नै गलत जस्तो भयो ।’ जयसवालले भन्नुभयो ।

अस्पतालमा गंभिर त्रुटि भएको खबर पाएपछि आफू त्यहाँ गएको र गल्ती गर्ने स्वास्थ्यकर्मीलाई तत्काल स्पष्टिकरण सोधेर विभागिय कारबाहीका लागि पत्रचार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो । ‘ सुरुमा सुई लगाउने स्वास्थ्यकर्मीको नाम सोधिएन पछि आफ्नो गार्ड(प्रहरी)लाई अस्पतालबाट नाम ल्याउन भनेको र अस्पतालले कोइरालाको नाम दिएपछि पत्रकारहरुलाई सोही नाम दिइएको हो ।’ मिश्रले भन्नुभयो । गलत नाम दिएको बारे अस्पतालसँग सोधपुछ गरिने मिश्रले बताउनुभयो ।

त्रुटिवश कर्मचारीले गलत नाम टिपाएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताउनुभयो । गलत नाम दिने कर्मचारीबारे सोधपुछ गरिने होदाको भनाई छ । बालिकाको उपचारमा गंभिर त्रुटि भएको होदाले बताउनुभयो । अस्पतालमा कम जनशक्ति भएका कारण काम गर्दा समस्या आउने गरेको डा. होदाको तर्क छ । रेबिज सुई लगाउनेहरुको लाइनमा आएर बालिकाका अभिभावक बसेको र नाम बोलाएपछि पुगेका उनीहरुलाई हेल्थ असिस्टेण्ट खातुनले सुई लगाई दिएको डा. होदाले बताउनुभयो । कार्ड नहेरी सुई लगाउँदा रेबिजको पर्न गई त्रुटि हुन पुगको होदाको भनाई छ ।

‘खुट्टा क्र्याक भएर आएकी बालिकालाई रेबिजको सुई दिएपनि त्यसले कुनै असर गर्दैन । स्वस्थ व्यक्तिले पनि उक्त सुई लगाउन सक्छन् । त्यसले पछिलाई फाइदै गर्छ ।’ तर गंभिर गल्ती भएकै हो । हामी सोधपुछ गरी कारबाही प्रकृया अघि बढाउँछौं । डा. होदाले भन्नुभयो।

प्रकाशित : २०७८ साउन १ गते १७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI