काङ्ग्रेस क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २ गते १६:२१
काङ्ग्रेस क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा क्रियाशील सदस्यताको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् । ७५ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा पुर्‍याइएको नेता पौडेलले बताए ।

अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइने जानकारी दिए । पौडेलले पार्टीको १४औँ महाधिवेशनका लागि आठ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको बताए । तर, यसमा कतिपय सदस्य उजुरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् ।

अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले आठ लाख ५० हजार क्रियाशील सदस्य कायम हुन सक्ने नेता पौडेलको भनाइ छ । साथै, पुरानो कार्यतालिका पनि केही फेरबदल हुन सक्नेछ ।

“अब टेक्निकल पाटोको मात्रै काम बाँकी छ,” नेता पौडेलले भन्नुभयो, “तीन/चार दिनमा क्रियाशील सदस्यहरुको हार्डकपी बुझाउँछौँ । सभापतिले केन्द्रीय समितिमा राखेपछि समितिबाट पास हुँँदै निर्वाचन समिति र त्यहाँँबाट वडामा जानेछ ।”

क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकोले यो टुंगिएपछि धेरै काम सकिने र महाधिवेशनको काम चलिरहने नेता पौडेलले बताए । क्रियाशील सदस्यका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेको र त्यसबाट नटुंगिएकालाई मापदण्डबाट टुंग्याएको भन्दै उनले मर्यादा उल्लंघन गरेर असहमति जनाउने विषयलाई कडाइका साथ रोक्नुपर्ने बताए ।

सहमति र मापदण्ड दुवैबाट नटुंगिएकालाई पदाधिकारीहरुकोमा पठाइएको उनले जानकारी दिए ।

प्रकाशित : २०७८ साउन २ गते १६:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI