एक आदर्श राजनेता: विश्वेश्वरप्रसाद कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ६ गते १२:२४
एक आदर्श राजनेता: विश्वेश्वरप्रसाद कोइराला

जन्म र मृत्यु निरन्तर प्रक्रिया हो । मानिसको जन्म भइसकेपछि उसको मृत्यु निश्चित छ।जीवन जिउने क्रममा आफुलाई हरेक कुरामा पोख्त बनाउने ईच्छा सबैको हुन्छ र अब्बल साबित गर्ने होडबाजी चलिरहन्छ । त्यसैक्रममा कोही मानिस सफल हुन्छन् भने कोहि बिफल तर संघर्ष भने एक मुठी सास रहँदा सम्म चलिरहन्छ।
राजनीतिमा बिपि र नेपाली साहित्य क्षेत्रमा विश्वेश्वरप्रसाद कोईराला एक परिचित नाम हो । उनी एक सफल नेपाली राजनीतिज्ञ र साहित्यकार हुन्। भूगोलका हिसाबले सानो मुलुक नेपालमा जन्मेको तर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बिशिष्ट स्थानमा पुग्न सफल महान बिचारक र दुरदर्शी सोचाईका धनी बिपिले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई आदर्शको रुपमा व्यावहारिक रूपमा प्रयोग गरेका थिए।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जहाँनिया राणाशासन विरुद्धको क्रान्तिका संस्थापक, प्रजातान्त्रिक समाजवाद आन्दोलनका नेता, नेपाली हिन्दी भाषाका साहित्यकार, राष्ट्रिय एकताका प्रतीक एक बहुप्रतिभाशाली राजनेताका रुपमा स्थापित विश्वेश्वरप्रसाद कोईरालाको जन्म बि स , १९७१ भदौ २४ गते कृष्णप्रसाद कोईरालाको कान्छी श्रीमति दिब्या कोईरालाको कोखबाट भएको थियो। न्वारानमा उनको नाम पन्डितले चुडामणि राखिदिएका थिए तर कालिदासलाई उक्त नाम मन नपरेपछि उनले विश्वेश्वरप्रसाद कोईराला भनी नामाकरण गरिदिएका थिए।
शालीन स्वभावका नेता बिपिले आफ्नो अध्ययन स्कटिस चर्च कलेज र कोलकत्ता बिश्वबिद्यालयबाट राजनीतिक र अर्थशास्त्रमा स्नातक तथा कानुनमा स्नातकोत्तर गरि उत्तीर्ण गरेका थिए। नेपालको आधुनिक राज्य प्रणाली पृथ्वीनारायण शाहले बि.सं. १८२४ साल भाद्र महिनामा काठमाडौ उपत्यकामा बिजय गरेपछि सुरुवात भएको मानिन्छ। तर पनि राजनीतिमा आम जनताको सहभागिताको दृष्टिकोणले यसको सुरुवात बि.सं १९९० को दशकमा राजनीतिक दलहरूको स्थापना र जुद्दशमशेरले १९९७ साल माघमा चार जना वीर सपूत (धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङगालाल श्रेष्ठ, दशरथ चन्द) लाई फाँसी दिए पश्चात नागरिक आन्दोलनबाट सुरुभएको हो । जङ्गबहादुर राणाले १९०३ मा कोतपर्व गरि निरंकुश राणाशासनको सुरुवात गरेका थिए । त्यसको अन्त्य गरि जनतालाई राज्यसत्ताको मालिक बनाउने उद्देश्यका साथ लोकतन्त्र, स्वतन्त्रता, न्याय र समतामूलक राज्य-ब्यबस्थापनका लागि बिपिको नेतृत्वमा नेपाली काङ्ग्रेसको स्थापना भएको थियो।
नेपाली काङ्ग्रेसका संस्थापक बिपिले नेपालमा प्रजातन्त्र स्थापनाका लागि आजीवन संघर्ष गरेका थिए। फलस्वरूप २००७ साल फाल्गुन ७ गतेको एतिहासिक परिवर्तन नेपालको राजनीति आधुनिक युगमा प्रवेश गरेको थियो। तसर्थ नेपालको इतिहासमा बिपिको नाम राजनीति र बैचारिक दृष्टिले अग्र पंक्तिमा उल्लेखित छ। समाजसेवी, शिक्षित नेता कोईराला बि स २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएको काङ्ग्रेस महाधिवेशनमा पार्टी सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए। २०१५ सालको आम निर्वाचनमा बिराटनगरबाट बिजयी बनेका बिपि बहुदलीय ब्यबस्थामा आधारित संसदबाट २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालका जननिर्वाचित प्रधानमन्त्री रहेका थिए।
बिपि नेतृत्वको सरकारले २०१६ सालमा बिर्ता प्रथा खारेज तथा राज्य रजौटा उन्मुलन गरेका थिए। राजा महेन्द्रले आफ्नो बिशेष अधिकार प्रयोग गरि बिपिलाई अपदस्थ गरि निर्दलिय पन्चायत ब्यबस्थाको शुरुआत गरे । त्यसपछी उनी आठ बर्ष नेपाल छाडी भारत पुगे । पुन:स्वदेश फर्किएर पन्चायत शासन ब्यबस्था विरुद्ध आवाज बुलन्द पार्दा कठोर कारावास र संघर्षमा नै बिपिको राजनीतिक जीवन बितेको थियो। समाजवादी चिन्तक एवम् प्रयोगकर्ता बिपि कोईरालाले स्वतन्त्ररुपमा उत्कृष्ट साहित्य सृजना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा, नयाँ शैली ल्याई नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
उनका कृति बिशेषत यौन मनोबिज्ञानमा आधारित छन्। तीन घुम्ती(२०२५) सुम्निमा (२०१७) मोदिआईन (२०३६) हिटलर र यहुदी (२०४०) बाबुआमा र छोरा (२०४५) उपन्यास एबम कथातर्फ मेरो कथा (२०४०) दोषी चस्मा (२०३९) प्रकाशित छन्।
राजनीतिक एवम साहित्यीक छवि भएका दुरदर्शी आदर्श पुरुषको स्वर्गारहण २०३९ साल साउन ६ गते ६८ बर्षको उमेरमा क्यान्सर रोगबाट भएको थियो। हामी न त बिपिका गतिविधिहरुको साक्षी हुने मौका पायौं, न त उहाँको भौतिक शरिर देख्ने अवसर पायौं। बिपिको बारेमा धेरै कुराहरू पुस्तकमा पढियो केही कुरा राजनीतिज्ञहरुको मुखार बिन्दुबाट सुन्ने अवसर पाईयो। बिपि एक महान र अमर ब्यक्ति हुन। उहाँको बारेमा जति लेखे पनि कलमहरु अनवरत चलिरहन्छ। लाग्यो , बिपिसंगै सायद एउटा युगको पनि अन्तय भएर गएको छ। बर्तमान राजनीतिको सन्दर्भमा दोश्रो संविधान सभाको निर्वाचनमा पहिलो शक्ति भएको नेपाली काङ्ग्रेसको पार्टी सभापति सुशील कोईरालाको नेतृत्वमा नेपालको संविधान २०७२ जारी भएको थियो। स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयन र मुलुकको स्थिरताको लागि फड्को मारेको छ । अबको बलियो काङ्ग्रेस बनाउनको लागि बिपिको सिद्धान्तलाई अनुशरण गर्न जरुरी छ।

कावासोती, नवलपुर

 

प्रकाशित : २०७८ साउन ६ गते १२:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI