शिक्षक आँफैमा एक मर्यादित पेशा !

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ६ गते १२:३८
शिक्षक आँफैमा एक मर्यादित पेशा !

तेज चन्द्र खनाल

 

शिक्षक भनेको हरेक समाजको पथ प्रदर्शक हो र शिक्षक समाज निर्मातापनि हो । शिक्षकले आफ्नो समाजका थुप्रै बालबालिकाहरूलाई उचित शिक्षा दीक्षा दिई अनुशासित, लगनशील र इमान्दार व्यक्ति बन्न प्रेरित गरिरहेका हुन्छन् | अनि तिनै शिक्षकहरू जो समाज र राष्ट्रका लागि आवश्यक दक्ष जशक्ति उत्पादन गर्ने एक सफल व्यक्ति मानिन्छन् | त्यसैले त समाजका हरेक शिक्षकलाई असल र सफल ‘गुरु’ मानेर सबैले आदर सम्मान गरेका हुन्छन् |

 

एक शिक्षक (जसलाई एक स्कूल शिक्षक वा औपचारिक रूपमा, एक शिक्षा पनि भनिन्छ ) एक व्यक्ति हो जसले विद्यार्थीहरूलाई ज्ञान, क्षमता वा सद्गुण प्राप्त गर्न मद्दत गर्दछ । (विकिपेडिया)

 

नेपाली बृहत् शब्दकोशमा शिक्षक शब्दको अर्थ यस्तो छ : शिक्षक: ना [सं०] शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु, मास्टर ।

 

शिक्षक शब्दमा प्रयोग भएको अक्षर  ‘शि’ ले ‘शिखरमा लैजाने मान्छे’, ‘क्ष’ ले ‘क्षमा गर्ने ब्यक्ति’ र ‘क’ ले ‘कमजोरी दूर गर्ने ब्यक्ति’ लाई पनि जनाउँदछ ।

 

शिक्षक यस्तो व्यक्ति जसले शिक्षण कार्य गर्ने गर्छ । सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञता समेत प्रदान गर्ने गर्दछन् । नेपालमा शिक्षकको पर्यायवाची शब्द ‘गुरू’  शब्दको प्रयोग प्राचीननकालदेखि हुँदै आएको पाइन्छ । ‘गुरू’  शब्दको शाब्दिक अर्थ हुन्छ जीवनको सम्पूर्णतालाई हासिल गर्ने दिशामा अगाडी बढ्नका लागि हामीलाई पथप्रदर्शन गर्ने व्यक्ति  । प्राचिनकालको गुरुकुल शिक्षण पद्धतिदेखि आजको २१ ‍औं शताब्दी सम्ममा आइपुग्दा शिक्षामा थुप्रै परिवर्तन र सुधारहरु हुँदै आएका छन् ।

 

विभिन्न वादहरुलाई नियालेर हेर्दा, प्रकृतिवादले शिक्षक केवल बालकको अवलोकनकर्ता र मञ्च निर्मातामात्र हो भन्दछ, यथार्थवादले कक्षाकोठामा वास्तविक ज्ञान प्रदान गर्ने व्यक्ति भनि व्याख्या गरेको छ भने आदर्शवादले विचार खन्याउन सक्ने व्यक्ति त्यस्तै प्रयोगवादले समस्या समाधानको परामर्शदाता भनेको छ । अस्तित्ववादले विद्यार्थीहरुलाई आत्मानुभूति प्राप्तिका कार्यमा सहयोग पुर्याउने व्यक्ति भनेको छ भने निर्माणवादले सिकारुलाई सिर्जनशिल बनाउने व्यक्ति भनेको छ । तर वास्तवमा शिक्षक कुन वादले भने जस्तो हुनुपर्ने हो त, असल शिक्षकमा कुन वादको गुण हुनु पर्ने हो वा शिक्षकले आँफुलाई कुन वादमा उभ्याउने हो त्यो भने शिक्षकले  बुझ्नु जरूरी छ ।

 

राष्ट्रका गहना उत्पादन गर्ने शिक्षकप्रति समाजको सोचपनि बदलिनुपर्छ। नत्र पुरानै सोंच बोक्ने हो भने कम्तिमा हाम्रा स्कुलहरुले भबिष्यमा राम्रा शिक्षक पाँउछ्न भन्ने आशा नगर्दा नै ठीक हुन्छ । डाक्टर, पाइलटदेखि प्रोफेसरसम्म राष्ट्रका कर्णधार उत्पादन गर्ने शिक्षक प्रति समाजको दृष्टिकोणमा कालो धब्बा छ । त्यसैले यस्तो कालो धब्बालाई हटाउनका लागि सम्पूर्ण शिक्षकहरु जिम्मेवार र पेशागत सम्मानका लागि एक ठाउँमा उभिनुनै आजको टड्कारो आवश्यकता हो ।

 

“जर्मनीमा शिक्षकहरुले सबैभन्दा बढी तलब पाउँछन् र जब न्यायधिश, डाक्टर र इन्जिनयरले आफुहरुको तलबपनि शिक्षक सरह हुनुपर्ने माग चान्सलर एंगेला मर्केल समक्ष गरे तब उनिले भनिन् तपाईंहरुलाई पढाएका शिक्षकहरुसँग तपाईंहरुको तुलना म कसरी गर्न सक्छु ।” त्यसैले सबै साधारण मानिसहरु शिक्षक हुन सक्दैनन् र सबै शिक्षकहरु साधारण मानिस सरहपनि हुँदैनन् । जबसम्म तपाइ शिक्षक बन्नको लागि योग्य वा लायक हुनुहुँदैन तबसम्म तपाईं शिक्षक बन्ने सपनापनि नदेखेकै राम्रो ।   

 

शिक्षक पेशा रोजेर शिक्षकबाट नै अवकाश पाउनुपर्ने अस्वभाविक परिस्थितिले गर्दापनि कतिपय शिक्षकहरुको मनोभावना दर्हो हुन सकेको छैन । उनीहरुले तय गरेको बाटो कति फराकिलो छ? कति टाढासम्म छ? र कहाँ सम्म पुग्ने हो? भन्ने कुरा स्पष्ट हुनु जरुरी छ साथै शिक्षकको पेशागत विकास समेत प्रष्ट हुन जरुरी छ। खरिदार, सुब्बाबाट सेवा प्रवेश गरेको एउटा निजामती कर्मचारीलाई मुख्य सचिवसम्म पुग्ने अवसर भएजस्तै शिक्षकलाई पनि यस्तै अवसर प्रदान गर्दै पदसोपान कायम गर्ने प्रवन्ध गरिनुपर्छ जसले गर्दा पेशाप्रति पूर्ण बफादार, कामप्रति उत्तरदायी र अध्ययनशील बनाउन मद्दत गर्दछ। यति मात्र होइन शिक्षक पेशामा तहगत बढुवाको अत्यन्तै उत्कृष्ट प्रावधान राखिनु पर्छ जसले शिक्षकहरुको आत्मसम्मानको उचाइ पनि उत्तिकै बढ्दै जान्छ । शिक्षकहरुको लागि अतिरिक्त बैदेशिक अध्ययन अनुसन्धानको बाटो खोलिदिने, सेमिनार, अनिवार्य पेशागत तथा पुनर्ताजगी तालिमहरुको आयोजना गर्ने, (सेना, प्रहरी, निजामती कर्मचारीहरुको जस्तै अस्पतालको व्यवस्था गरिदिने, दैनिक भ्रमण भत्ता, काज विदा, घर विदा, आदि) सुविधाहरुको न्यायोचित प्रबन्धले पनि शिक्षण पेशालाई थप जिम्मेवार बनाउन सहयोग पुर्याउँदछ ।

 

शिक्षण पेशा, पेशामात्र नभइ यो ठूलो अवसर पनि हो । भोलिको राष्ट्रको सैद्धान्तिक, वैचारिक वा संस्कारगत भबिष्यको नेतृत्व गर्ने कुरा सानो होइन । तुलनात्मक रुपमा शिक्षण पेशामा पैसा कम हुन्छ भन्ने सोचाई छ तर त्यो भन्दा ज्यादा इज्जत, प्रतिष्ठा र सम्मान आर्जन गरिन्छ भन्ने कुरा गौण बनिदिन्छ । त्यसैले यसलाई जागिरको रुपमा मात्र नहेरी, उच्च सम्मान र प्रतिष्ठाको आयामको रुपमा समेत बुझ्नु जरूरी हुन्छ ।

 

अमेरिकामा दुई वर्गका मानिसहरुलाई भि.आइ.पि. मानिएको छः- वैज्ञानिक र शिक्षक ।

फ्रान्समा सम्मानित अदालत भित्र शिक्षकलाई मात्र कुर्सीमा बस्ने अनुमति छ ।

जापानमा शिक्षकलाई पक्राउ गर्न पुलिसले सरकारबाट विशेष अनुमति लिनु पर्दछ ।

कोरियामा शिक्षकहरुले ति सुविधाहरु उपयोग गर्न पाउँछन् जुन सुविधाहरु भारतमा मन्त्रीहरुले आफ्नो परिचयपत्र देखाएर मात्र उपयोग गर्न सक्छन् । 

 

हाम्रो समाजमा त्यस्ता केही शिक्षकहरू पनि हुनुहुन्छ जसले शिक्षक जस्तो गरिमामय पेशालाई धमिल्याइ रहनु भएको छ । पेशा एकातिर छ काम अर्कै गरिरहनु भएको पनि हामी प्रशस्त उदाहरण हरु भेटाउँछौं । कतिपयले त  शिक्षण पेशालाई पार्टटाइम पेशाको रुपमा समेत लिने गर्नु हुन्छ । कतिपयले त राजनीति गर्ने  थलोको रुपमा समेत विद्यालयलाई लिने गर्नु हुन्छ । समयमा विद्यालय नपुग्ने, राजनीतिक दलको झोले कार्यकर्ताको रुपमा आफुलाई प्रस्तुत गर्ने, नविनतम शिक्षण विधि र प्रविधिहरुको खोजी नगरी कक्षाकोठामा जाने, पुरा समय कक्षामा नबिताउने, आँफुलाई समयानुसार परिवर्त गर्न नखोज्ने, पदलोलुपता देखाउने जस्ता विविध कारणहरुले गर्दा शिक्षण पेशा भनौ वा शिक्षकहरु प्रति आम मानिसले हेर्ने दृष्टिकोण समेत नकारात्मक भएको छ । राज्यको त झन कुरै नगरौं ।

 

“रुसमा एउटा पत्रकार सम्मेलनमा, पत्रकारले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सोधेछन् ‘तपाइले कोभिड-१९ विरुद्धको खोप सबभन्दा पहिले डाक्टर र शिक्षकलाई दिने भन्नु भयो तर के आम मानिसले बाँच्नु पर्दैन ?’ यसको जवाफमा पुटिनले उल्टै प्रश्न गरेछन्, ‘शिक्षक मर्यो भने डाक्टर कसले उत्पादन गर्छ ? अनि डाक्टर मर्योभने आम मानिसको उपचार कसले गर्छ ?”

 

त्यसैले सम्पूर्ण आदरणीय शिक्षक वर्गहरु, यदि तपाई एक असल र सफल शिक्षकमा हुनुपर्ने गुणहरुलाई अवलम्बन गर्न सक्नु हुन्न र चाहनु हुन्न भने कसैको चाकडी र चाप्लुसीमा लागेर वौद्धिक ब्यक्तित्वका रुपमा परिचित शिक्षक पेशाको अपमान नगर्नुहोस् | जुनसुकै समाजका हरेक बालबालिकालाई आफ्नो सन्तान तथा परिवारको एक सदस्यका रुपमा हेर्न र स्विकार्न सक्नुहोस् । अनिमात्र तपाई समाजको एक आदरणीय ब्यक्ति बन्न सक्नुहुनेछ । तपाइबाट समाजमा कुनै गल्ती वा कमजोरी रहेमा र हुन गएमा कुनै राजनीतिक नेताहरूको पछि लागेर गुहार नमाग्नुहोस् । तत्काल आफ्नो गल्तिलाई स्वीकार्दै त्यसलाई सुधार गर्नुहोस् । समाजमा आफुलाई एक अगुवाको रुपमा प्रस्तुत गर्दै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहोस् त तपाईलाई समाजले मात्र हैन राज्यले समेत चिन्न कर लाग्छ ।

 

अन्त्यमा,

शिक्षाको गुणस्तरका बारेमा भएका धेरै अनुसन्धानहरूको निष्कर्ष के छ भने, शिक्षाको गुणस्तरलाई प्रभावित पार्ने एउटै कुरा छ– त्यो हो, शिक्षकहरूको स्तर ।  शिक्षक सुयोग्य छन् भने तिनको शिक्षण स्वाभाविक रूपमै योग्य अनि सफल हुन्छ । शिक्षक सफल भयो भने शिक्षण सफल हुन्छ त्यसले सिकाइको स्तर उकास्न मदत गर्दछ । सिकाइ राम्रो भयो भने राज्यलाई आवश्यक दक्ष जनशक्तिको परिपूर्ति हुन्छ अनि सम्पूर्ण राष्ट्र विकास र समुन्नतिको गतिमा अगाडी बढ्दछ । त्यसैले राज्यले शिक्षकहरुलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। समाजले शिक्षकलाई सदैव मर्यादित पेशाको रुपमा बुझ्नुपर्छ र प्रत्येक आमाबाबुले आफ्नो छोराछोरी पनि शिक्षक बनोस भन्ने चाहाना राख्नुपर्छ। त्यसैले सोंच बदलौ, सकारात्मक भावनाको सञ्चार गरौं र शिक्षक हुनुमा गर्व गरौं । सब ठीक हुन्छ ।

 

सन्दर्भ सामग्रीहरू

  • विकिपेडिया (https://en.wikipedia.org/wiki/Teacher)
  • नेपाली बृहत् शब्दकोश
  • विभिन्रन अनलाइन पत्रपत्रिकाहरू

 

लेखक हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत हुन ।

 

 

प्रकाशित : २०७८ साउन ६ गते १२:३८
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI