कार्यविधि मिचेर ओलीले पनि लिए सुरक्षाकर्मी

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ८ गते १०:००
कार्यविधि मिचेर ओलीले पनि लिए सुरक्षाकर्मी

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले बनाएको कार्यविधि मिचेर थप सुरक्षाकर्मी लिएका छन् । मन्त्रिपरिषद्ले मंसिर ७ मा जारी गरेको ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था कार्यविधि, २०७७’ विपरीत ओलीले तोकिएभन्दा बढी सुरक्षाकर्मी लिएका हुन् ।

ओलीले प्रधानमन्त्रीबाट हटेलगत्तै बहालमा रहेका बखत अंगरक्षक रहेका प्रहरी निरीक्षक माधव केसीलाई पनि साथमै लगेका छन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै गृह मन्त्रालयले पटके निर्णयमार्फत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा पूर्वपदाधिकारीहरूको सुरक्षामा प्रहरी तैनाथी बढाएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले प्रहरी नायब उपरीक्षक र ओलीले निरीक्षकबाहेक अरू पूर्वपदाधिकारीको सुरक्षामा प्रहरी नायब निरीक्षक (सई) भन्दा तल्लो दर्जाका सुरक्षाकर्मी लिएका छन् । ओली नेतृत्वको सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था कार्यविधि, २०७७’ लागू गर्दै पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा कटौती गरेको थियो । गृह मन्त्रालयले अपराध अनुसन्धान तथा नियन्त्रण र सीमा सुरक्षामा जनशक्ति अपुग रहेको भन्दै पूर्वपदाधिकारीको सुरक्षामा खटाइएका ५ सयभन्दा बढी सुरक्षाकर्मी कटौती गरिएको थियो ।

यसरी सुरक्षाकर्मी दुरुपयोग गरेको विषयमा सांसदहरूले प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँण र गृह सचिव महेश्वर न्यौपानेलाई भीआईपीका लागि सुरक्षाकर्मी थपेकोलगायत विषयमा प्रश्न गरेका हुन् । तर मन्त्री र सचिव दुवैले यो विषयमा जवाफ दिएनन् ।

भीआईपीहरूलाई सरकारले नै तय गरेको कार्यविधिविपरीत सुरक्षाकर्मी खटाएकामा प्रमुख प्रतिपक्षी एमालेका सांसद नवराज सिलवालले प्रश्न गरे । उनले वर्तमान सरकार गठन भएपछि नेताहरूलाई सुरक्षा चुनौती थपिएर कार्यविधि मिच्दै सुरक्षाकर्मी थप्नुपरेको हो ? भन्ने प्रश्न राखेका थिए ।

गृहमन्त्री खाँण र गृह सचिव न्यौपानेलाई सांसद सिलवालको जिज्ञासा थियो, ‘योभन्दा अगाडिको सरकारले नीति नै बनाएर भीआईपीलाई कसरी सुरक्षा दिने भन्ने तय गरेको थियो । अहिले कार्यविधिभन्दा बाहिर गएर सुरक्षाकर्मी किन थपिएको हो ?’ यसरी नै अघि बढेमा गृहमन्त्री खाँण असफल हुने सांसद सिलवालले बताए । ‘मन्त्रीज्यूलाई यस्ता कुराले फसाइदेला, तपाईंलाई मुलुकले सफल गृहमन्त्री भएको देख्न चाहन्छ ।

यस्ता कुराबाट बच्नुपर्छ,’ सिलवालले सुझाव दिए । विशिष्ट व्यक्तिहरूलाई सुरक्षा थप्नुपर्ने भएमा राज्यको आवश्यकताअनुसार नीति नै तय गर्नुपर्ने उनले बताए । त्यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि गृहमन्त्री र गृह सचिवलाई भीआईपीहरूको सुरक्षामा सुरक्षाकर्मीको बढोत्तरी के आधारमा गरिएको हो भन्ने प्रश्न गरेका थिए । त्यसरी सुरक्षाकर्मी थप्ने कामलाई जनताले निको नमानेको उनको भनाइ छ । ‘पहिले गाउँमा बाख्रा चराएको र भैंसी हेरेको भन्ने अनि सिंहदरबार र शीतल निवास अन्त कहाँ–कहाँ हो पुगेपछि राजकीय रबाफ चाहिने ?’ उनले व्यंग्य गरे ।

सांसदका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँण र सचिव न्यौपाने भने यस विषयमा प्रवेश नै गरेनन् । उनीहरूले बाढीपहिरो, डुबानलगायत विपद्बारे सोधिएका प्रश्नको मात्रै जवाफ दिए ।-कान्तिपुर बाट

प्रकाशित : २०७८ साउन ८ गते १०:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI