सुजिता भण्डारी प्रकरण: दाजु बहिनीको प्रेम सम्बन्धले निम्त्याएको घटना

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ८ गते १७:२७
सुजिता भण्डारी प्रकरण: दाजु बहिनीको प्रेम सम्बन्धले निम्त्याएको घटना

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारीको घटनामा आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ । सुजिताकी आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालय चितवनमा ६ गते बुधवार आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकी हुन् ।

सुजितालाई आत्महत्या गर्न वाध्य बनाइएको भन्दै जेठाजु (सुजिताको ठुलोबुवा) का छोरा सचिन भन्ने सुकदेव भण्डारी विरुद्ध जाहेरी दिएकी हुन् । पीडितको जाहेकी पछि प्रहरीले सुकदेवलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

७ गते बिहीबार पक्राउ परेका सुकदेवमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको चितवन प्रहरीले जनाएको छ । सुजिता र सुकदेव नाताले दाजु बहिनी भए पनि लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।

यस्तो थियो सुजिता र सुकदेवको सम्बन्ध

सुजिता भण्डारी र झापाको झापा गाउँपालिका ६ शरणामतिका सचिन भन्ने सुकदेव भण्डारी नाताले दाजु बहिनी । सुजिता सुकदेवको कान्छो काकाकी छोरी । नाताले दाजु बहिनी भए पनि यि दुईको सम्बन्ध यतीमा मात्रै सीमित थिएन । बिगत केही समयदेखि सुजिता र सुकदेव प्रेम सम्बन्धमा थिए ।

यि दुईको सम्बन्धमा बारे परिवार पनि जानकार थियो । धेरै पटक परिवारले सचेत समेत गराएका थिए । सुकुदेव र सुजिता काठमाडौं गई एक साथ बस्ने योजनामा थिए । चितवनबाट दिदीको घर काठमाडौं जान्छु भनेकी सुजिता केही समय दिदीको बसेर सुकदेवलाई तुरुन्त कोठा खोज्न दबाब दिएकी थिईन् । सुकदेवले कोठा खोजेर उनीहरु सँगै बसेको समेत अनुसन्धानले देखाउछ ।

लामो समय एकअर्कासँग बसेपछि सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएको पनि अनुसन्धानमा खुलेको छ । विवाह गर्न सामाजिक तथा नैतीक कठिनाई हुने भएपछि सम्भव भएसम्म बिदेश जाने उनीहरुको योजना थियो । तर सम्भव नभए एक आपसमा अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएका थिए ।

असार ९ गते सुजिताले सुकदेवलाई विवाह गर्न प्रस्ताव गरे पछि सोही बिषयमा दुईबीच विवाद भएको देखिन्छ । विवाह नगरे सुजिताले मर्ने धम्की दिएको र सुकेवले जे सुकौ गर भनेको प्रहरीको अनुसन्धानले देखाउछ । त्यसपछि यि दुईबीच सम्पर्क नभएको घटनाका प्रमुख अनुसन्धान अधिकृत डिएसपी ईन्द्रबहादुर रानाले बताए ।

के हो घटना ?

११ गते बिहान ६ बजे सुजिता साथिको घरमा तरकारी लिन भनी घरबाट निस्किएकी थिईन् ।सुजिताकी दिदी कबिताले प्रहरीलाई दिएको जानकारी अनुसार दिदी (कबिता) बहिनी (सुजिता) र भाई सँगै सुतेका थिए । सुजिता बिहान उठेर कसैलाई थाहा नदिई घरबाट निस्किएकी थिईन् । घरबाट बिहानै निस्किएकी सुजिताले केही बेरपछि दिदीलाई फोन गरेकी थिईन् ।

कबिताको मोबाइल चार्जमा राखेकोले फोन उठ्दैन । कबिताको मोबाइलमा ६,७ पटकसम्म पुरै घण्टी बजेको थियो । केही बेरमा बहिनीको मिस्डकल देखेपछि कबिताले सुजितालाई फोन गर्छिन् । कबिताले फोन गरेपछि सुजिताले आफु अपहरणमा परेको र आफ्नो आँखामा पट्टी बाँधिएको, स्प्रे छर्किएको भनेर जानकारी गराउछिन् ।

बहिनीले अपरणमा परेको भनेपछि सोही दिन कविताले ईलाका प्रहरी कार्यालय टाँडीमा टेलीफोन मार्फत घटनाको बारेमा जानकारी दिईन् । सोही दिन कविताले लिखित जाहेरी समेत दिईन् । जाहेरीपछि इप्रका टाँडीका डिएसपी ईन्द्रबहादुर रानाको नेतृत्वमा प्रहरीले अनुसन्धान सुरु गर्‍यो ।

खोजतलासका क्रममा असार ११ गते हराएकी सुजिताको शव २० गते आइतबार दिउँसो ब्रम्स्थानी सामुदायीक वनमा भेटिएको थियो । प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने बिषादीको बोतल र झोला फेला र उनले प्रयोग गर्ने गरेको मोबाइल फेला पारेको थियो। २१ गते प्रहरीले शव पोष्टमाटमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवी शिक्षण अस्पताल पठाएको थियो ।

पोष्टमाटममा सुजिताको शरीरमा कुनै पनि किसिमको चोटपटक नदेखिएपछि प्रहरीको अनुसन्धान आत्महत्यातर्फ मोडियो । पोष्टमाटममा केही नदेखिएपछि प्रहरीले २३ भिसेरा परीक्षणका लागिखुमलटार पठाएको थियो । भिसेराको रिपोर्ट आउन बाँकी छ । प्रहरीको अनुसन्धानका क्रममा सुजिताको सुकदेवसँग बिशेष सम्बन्ध रहेको देखिन्छ । सुजिताको साउन ४ गते देवघाटमा अन्त्येष्टि गरिएको थियो ।-एटुजेड समाचारबाट

प्रकाशित : २०७८ साउन ८ गते १७:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI