No ads found for this position

नवलपुरमा ४३ हजार जनाले खोप

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ९ गते ११:११
No ads found for this position
नवलपुरमा ४३ हजार जनाले खोप
No ads found for this position

खगेन्द्र पराजुली/नवलपुर– नवलपुरमा सोमबार मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको उपस्थितिमा उद्घाटन नै गरेर शुरु भएको कोभिड विरुद्धको जानसेन खोप पालिकामा आजबाट लगाउन थालिएको छ । जिल्लामा प्राप्त १५ हजार ७० डोज खोप मध्येबाट आज शुक्रबार मध्यविन्दु नगरपालिकाले जोनसेन खोप अभियान थाल्यो ।

एक डोज मात्रै लगाए पुग्ने जानसेन खोप उद्घाटनका दिन १७ जनाले लगाएसँगै अहिलेसम्म जिल्लामा ४३ हजार २ सय ९० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका अन्य पालिकाले पनि खोप तालिका बनाएर नजिकैका स्वास्थ्य संस्थाबाट सेवा दिने जनाएका छन् । जिल्लामा अहिलेसम्म भारतबाट आएको कोभिशिल्ड, चिनबाट प्राप्त भेरोसेल खोप लगाएका थिए भने अहिले कोभिडविरुद्धको जानसेन खोप लगाउँदैछन् ।

पहिलो पटक आएको कोभिशिल्ड खोपको प्राथमिकतामा परेका स्वास्थ्यकर्मीलगायत फ्रण्टलाईनर प्रहरी, कोरोना संक्रमण भई ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा खटिएका सेना–कर्मचारी, सरसफाईकर्मी र त्यसपछि ६५ व्र्ष उमेर माथिका नागरिक र पत्रकार गरी १७ हजार १ सय ६२ जनाले पहिलो मात्रा लगाएकामा ३ हजार ९ सय ३८ जनाले मात्रै दोस्रो डोज लगाउन पाएका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार कोभिशिल्डको दोस्रो मात्रा लगाउन जिल्लामा अझै १३ हजार ५ सय डोज आवश्यक छ । गत माघ महिनामा लगाइएको खोपको दोस्रो मात्रा अहिलेसम्म लक्षितलाई उपलब्ध हुन नसकेको जनाइएको छ ।

चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा जिल्लाका २६ हजार १ सय ११ जनाले लगाएका छन् । पहिलो चरणमा ४ हजार ९ सय ६५ जना र दोस्रो चरणमा २१ हजार १ सय ४६ जनाले पहिलो मात्रा लगाएकामा दोस्रो डोज भने ४ हजार ८ सय १५ जनाले मात्रै लगाएका छन् । नवलपुरको पहाडी गाउँपालिका बुलिङटार र बौदीकालीमा एक–एक हजार डोज भेरोसेलको पहिलो मात्रा पठाएकोमा उक्त खोप त्यहाँका नागरिकलाई लगाउनै बाँकी छ ।

स्वास्थ्य कार्यालयका अनुसार थप १० हजार डोज भेरोसेल खोप  शनिवार बिहान जिल्ला आईपुगेको जनाईएको छ । उक्त खोप ५५ बर्षमाथीका खोप लगाउन छुटेका नागरिकका लागि ल्याउन लागिएको हो ।
पालिकाहरुको आँकडा अनुसार करिव ३ लाख ३० हजार जनसंख्या भएको नवलपुरमा १८ बबर्षमुनिका करिब १ लाख र बाहिर रहेका करीव ३० हजार गरी १ लाख ३० हजार नागरिक खोपको दायरामा ल्याउन नपर्ने अवस्थालाई अनुमान गर्दा कुल २ लाख जनसंख्यालाई आधार मान्दा २२ प्रतिसतले खोप लगाईसकेका छन् ।

अब लगाइने जानसेनको १५ हजार डोज,  शनिवार बिहान जिल्ला आईपुगेको भेरोसेल १० हजार र बौदीकाली र बुलिङटारमा पुगिसकेको तर लगाउन बाँकी २ हजार भेरोसेल खोप लगाउँदा करिब ४० प्रतिसतले खोप पाउने अवस्था रहेको स्वास्थ्य प्रमुख चापागाईले बताए । उनले अव पहिलो मात्रा कोभिशिल्ड खोप लगाएकाहरुका लागि दोस्रो डोज उपलब्ध गराउनु प्राथमिकतामा रहेको सुनाए ।
४० प्रतिशत नागरिकले खोप लगाउँदा कोरोना संक्रमण फैलने दर कम हुने, संक्रमण भईहालेमा गम्भीर अवस्थामा पुग्ने सम्भावना न्यून रहने र ज्यान जाने सम्भावना अत्यन्त न्यून हुने बिज्ञ–बिशेषज्ञहरुको भनाइ छ ।

प्रकाशित : २०७८ साउन ९ गते ११:११
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI