विज्ञापन रद्द तर फिर्ता भएन आवेदकको रकम

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ९ गते ११:२४
विज्ञापन रद्द तर फिर्ता भएन आवेदकको रकम

काठमाडौँ । जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालन गर्न करारमा कर्मचारी नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द भए पनि आवेदकको रकम भने फिर्ता भएको छैन ।

नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखालगायतका २९ वटा पदमा १२९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो । पछि सो विज्ञापन रद्द गरिएको थियो । रद्द भएको विज्ञापनका लागि निवेदकहरूबाट करिब डेड करोड रुपियाँ सङ्कलन भएको थियो ।

दरखास्त आह्वान गरिएको अन्तिम दिनसम्म ३२ हजार ६८६ जनाले आवेदन दिएका थिए । दरखास्त दिने अन्तिम म्याद असोज १२ गतेसम्म थियो गत वर्ष भदौ २९ गते दरखास्त आह्वान गरिएको थियो । अधिकृत स्तर पदका लागि एक हजार, सुब्बा स्तरको चार सय र श्रेणीविहीन स्तरको विज्ञापनका लागि तीन सय रुपियाँ आवेदन दस्तुर तोकिएको थियो । दस्तुरबापत करिब एक करोड ३६ लाख रुपियाँभन्दा बढी रकम नेपाल रेल्वे कम्पनीको खातामा जम्मा भएको थियो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले करारमा कर्मचारी भर्नाको लागि आह्वान गरिएको विज्ञापन रद्द भए पनि आवेदकहरूले आवेदनबापत लागेको शुल्क फिर्ता पाउने बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार सो आवेदन आह्वान गरिए पनि लोकसेवा आयोगको निर्देशनमा विज्ञापन रद्द गर्नुपरेको उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित : २०७८ साउन ९ गते ११:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI