मानसिक समस्यामा छन् विजय शाही, आफैंले मृत्युको अफवाह फैलाएको आशंका

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १४ गते १२:३५
मानसिक समस्यामा छन् विजय शाही, आफैंले मृत्युको अफवाह फैलाएको आशंका

सुर्खेत । अद्भुत स्मरणशक्तिको दावी गर्दै चर्चामा आएका कालिकोटका युवा विजय शाहीको मृत्युको खबर तीन दिनअघि सामाजिक सञ्जालमा भाइरल भयो । खबरसँगै पोष्ट गरिएको तस्बिरले गर्दा धेरैले पत्याए पनि । यद्यपि, अन्तमा यो एउटा झूटो स्क्यान्डल सावित भएको छ ।

मृत्युको खबरपछि प्रहरीले शाहीलाई उनकै घरमा पुगेर भेटेको थियो । प्रहरीले दुरुस्त भेटाए पनि शाही अहिलेसम्म कुनै मिडियाको सम्पर्कमा आएका छैनन् । उनको मोबाइल स्वीच अफ छ । परिवारका सदस्यहरू पनि यो विषयमा बोल्न चाहँदैनन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाही विजयलाई उनको बुबा पंखबहादुर शाही र आमाले स्ट्रेचरमा बोकेर लगेको स्थानीयले देखेपछि मृत्युको हल्ला चलेको बताउँछन् ।

‘अस्ति दिउसैदेखि उहाँमा मानसिक असन्तुलनजस्तो भएको रहेछ । एक्लै कराउने, बर्बराउने गर्दै आउनुभएको रहेछ,’ सूचना अधिकारी समेत रहेका शाहीले भने, ‘धामी-झाँक्री लगाउँदा पनि सञ्चो भएनछ । दिउँसो बेहोस नै भएपछि अस्पतालतिर लगिएको रहेछ ।’

विजयको गाउँ महावै-५ बाट मान्म आउन र जुम्ला जान चार घण्टा लाग्छ । बीचमा फोन सम्पर्क पनि हुँदैन । बुवा र आमाले स्ट्रेचरमा केहीबेर बोकेर हिँडाएपछि बाटोमै होस आएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

‘होस आएपछि राती आठ बजे उनलाई घरमा फर्काइएको रहेछ,’ उनले भने ।

मृत्युको हल्ला असत्य सावित भइसके पनि सामाजिक सञ्जालमा आएको फोटोको वास्तविकता भने अझै खुल्न सकेको छैन । उक्त तस्बिरमा विजयलाई कात्रो ओढाइएको तथा नाकमा कपास कोचिएको देखिन्छ । तस्बिर फोटोसप गरिएको हो कि विजयले मृत्युको अभिनय गरेर फोटोसेसन गरेका हुन् भन्ने प्रष्ट भएको छैन ।

विजय पढेको स्कूलका शिक्षक दीपकबहादुर शाहीले सबैभन्दा शुरूमा तस्बिरसहित पोस्ट गरेका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको भन्दै उनले सो तस्बिर पोष्ट गरेका थिए । त्यसैका आधारमा धेरैले उनलाई श्रद्धाञ्‍जली दिन भ्याए । तर, केही बेरमा शाहीले आफ्नो पोष्ट हटाएपछि श्रद्धाञ्जली दिनेहरू रणभूल्लमा परेका थिए ।

शिक्षक शाहीले यो तस्बिर कहाँबाट पाए भन्ने अझै खुलेको छैन । उनले आफैं बदमासी गरेर उक्त फेक तस्वीर पोष्ट गरेका हुन् वा उनी स्वयम् भ्रममा परेका हुन् भन्नेबारे प्रहरी पनि अनभिज्ञ छ । शाही तीन दिनदेखि मोबाइल स्वीच अफ गरेर बसेका छन् ।

विजयका निकटस्थले भने यो तस्बिर एउटा भिडियो सुटिङका क्रममा खिचिएको दावी प्रहरीसँग गरेका थिए । उनले पहिले कुनै भिडियोमा मरेको अभिनय गरेको र त्यही सुटिङको तस्बिर अहिले भाइरल भएको पाइएको प्रहरी स्रोतले बतायो ।

तर विजयसँग निकट रहेका पत्रकार अभिनन्दन बस्नेत भने विजयले कुनै पनि भिडियो नखेलेको दावी गर्छन् ।

‘पछिल्लो ६ महिनादेखि मैले विजय शाहीको सबै कर्तुत बुझें । त्यसपछि मैले उसलाई ब्लक गरेको छु,’ उनले भने । प्रहरीले दीपकबहादुर शाही र विजय शाहीलाई खोजिरहेको समयमा जनताको सहानुभूति लिन यस्तो नाटक मञ्चन गरिएको उनको आशंका छ ।

‘यो उनीहरूको नाटकमात्रै हो । विजयले कुनै पनि भिडियो खेलका छैनन्,’ बस्नेतले भने ।

प्रहरी निरिक्षक शाहीका अनुसार कालीकोटमा विजय शाहीले आफ्नो मृत्युको हल्ला फैलाउनेलाई कारवाही गर्नका लागि कुनै उजुरी गरेका छैनन् ।

‘सुर्खेत, कालीकोटमा कुनै पनि उजुरी परेको छैन । उजुरी नपरेपछि प्रहरीले कसरी छानविन गर्नु ? काठमाडौंमा परेको भए थाहा भएन,’ उनी भन्छन्, ‘उनले ठगी गरेको भन्ने बारेमा पनि कतैबाट कालिकोटमा उजुरी परेको छैन । ती सबै मिडियामा आएका कुरामात्रै हुन् ।’

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंह विजय शाहीको मृत्युको अफवाह र फेक फोटोका विषयमा प्रहरीले बुझिरहेको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘मैले यो विषयमा बुझ्नका लागि साइबर सेललाई भनेको छु ।’

परिवारनिकटका अनुसार शाही पछिल्लो समय निकै तनावमा छन् । खासगरि एक अमेरिकी भ्लगरले आफूलाई ‘ठग’ भन्दै भिडियो पोष्ट गरेपछि उनी मानसिकरूपमा विक्षिप्त बनेको बताइएको छ । उनले आफ्नो ‘प्रतिभा’ लाई मानिसहरूले बुझ्न नसकेको गुनासो गर्दै आएका थिए ।

उनकै गाउँका एक स्थानीयका अनुसार विजयले पछिल्लोपटक ‘आफूले अब पुनर्जन्म लिने’ बताएका थिए ।-नेपाल प्रेसबाट

प्रकाशित : २०७८ साउन १४ गते १२:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI