नेपाली विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १४ गते २०:२८
नेपाली विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल

काठमाडौँ — नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो ।

थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएकाे हाे । ‘हाम्रो रकेटको सुपर सोनिक टेस्ट सफल भयो । म्याक-२ स्पिड हो यो,’ मुख्य निर्माणकर्ता मोहन तामाङले  भने, ‘५ औं पटकको प्रयास सफल भयो ।’

सुपर सोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । हावामा ध्वनिको गति ३ सय ४३ मिटर प्रतिसकेन्ड हुन्छ । ६.१ फिट उचाइ रहेको रकेटको तौल ९ किलो छ । रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ । यसमा १.२ केजी फ्यूल प्रयोग हुन्‍छ ।

क्‍वान्टमको प्रक्षेपणका क्रममा अधिकतम १८ सय न्यूटन इनर्जी दिएको थियो । उडानका लागि न्यूनतम ९ सय न्‍यूटन थ्रस्ट आवश्‍यक पर्ने तामाङले बताए ।

प्रक्षेपणका क्रममा रकेट २.१ किलोमिटर माथि पुगेको थियो । उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा झारिएको थियो । ‘प्यारासुट रिकभरीका लागि हो । फ्युलमात्रै परिवर्तन गरेर रकेटलाई फेरि उडाउन सकिन्छ भन्ने उद्देश्य हो,’ तामाङले भने । फाइबर ग्लास प्रयोग गरेर निर्माण गरिएको रकेट कम खर्चमा तयार गरिएको हो ।

यसमा विभिन्न सेन्सरको प्रयोग गरिएको छ । रकेटका विभिन्न ‘एस्पेक्ट’ पत्ता लगाउन सेन्सर प्रयोग गरिएको तामाङले बताए । उनका अनुसार नेपाललाई अन्तरिक्ष क्षेत्रमा पुर्‍याउने उद्देश्यले रकेट बनाइएको हो ।

रकेट निर्माणमा तामाङबाहेक इन्जिनियरिङ अध्ययन पूरा गरेका रामहरि चौधरी, शिवनारायण कुँवर, प्रदीप शर्मा, ईश्वर श्रेष्ठ, धनबहादुर घर्तीमगर, रमेश साउद र दीपेन्द्र बस्नेत छन् । निर्माणकर्ताहरु उज्जवल ढकाल र अमृत ढुंगाना भने इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । उनीहरु काठमाडौं विश्वविद्यालय, थापाथली इन्जिनियरिङ क्‍याम्प‌स, काठमाडौं इन्जिनियरिङ कलेज, अक्सफोर्ड इन्जिनियरिङ कलेज र कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङमा पनि आबद्ध छन् ।

रकेटलाई थप विकासित गर्दै लैजाने योजना आफूहरुको रहेको तामाङ बताउँछन् । यसअघि नेपाली विद्यार्थीहरुले बनाएकाे गरुडा रकेट भने परीक्षण असफल भएको थियो । अमेरिकामा हुने प्रतिस्पर्धा लक्षित गरेर बनाइएकाे रकेटकाे विकास कोरोना भाइरसका कारण रोकिएको थियो ।-ईकान्तिपुरबाट

प्रकाशित : २०७८ साउन १४ गते २०:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI