निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर : मुख्यमन्त्री नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १८ गते १९:२४
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर : मुख्यमन्त्री नेपाली

पोखरा । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने भनाइ राखे । उनले भने,‘ लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार के गर्नुपर्छ हामीलाई सुझाव चाहिएको छ, हाम्रो क्षमताले भ्याएसम्म सहकार्य गर्न सरकार तयार छ ।’

उनले युवाहरुलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको बताए । व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको भन्दै उनले प्रविधिकै कारण लागत मूल्य कम पर्ने र उपभोक्तासम्मले अनुकुल मूल्यमा सामान प्राप्त गर्न सक्ने भनाइ राखे ।

राजनीतिक घटनाक्रमका बीच गण्डकीमा नयाँ सरकार बने पनि अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर आफूहरु अगाडि बढ्ने प्रतिबद्धता उनले जनाए ।
कोरोनाबाट थलिएका साना व्यवसायीका लागि ल्याइएको जीवन रक्षा कोषलाई थप प्रभावकारी बनाएर लगिने उनले बताए । ‘यसमा देखिएका कमी कमजोरीलाई सुधारेर यसलाई तत्काल कार्यान्वयनमा हामी ल्याउँछौं,’ उनले भने ।

प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सरकारले काम थालिसकेको उनले जानकारी गराए ।

कोरोना महामारिले हाम्रो समग्र जीवनलाई थला पारेको भन्दै उनले भने, ‘यो विषम परिस्थितिबाट उन्मुक्ति पाउने १ मात्र उपाय कोरोना विरुद्धको खोप नै हो । यो सरकार गठन भएदेखि नै सबै प्रदेशबासीलाई खोप उपलब्ध गराउने कुरामा कृत संकल्पित रहँदै आएको छ । सरकारले आवश्यक बजेटको समेत प्रबन्ध गरेको छ भने खोप हासिल गर्नका लागि प्रयत्नहरु गर्दै आएको छ ।’ प्राथमिकता र माग अनुसार प्रदेशमा खोपको व्यवस्थापन गर्दै आएको उनले बताए ।

लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने तथ्यका प्रति यो सरकार स्पष्ट रहेको भन्दै उनले लगानी गर्ने र व्यवसाय गर्ने अनुकुल वातावरण निर्माण गरी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढन सरकार आतुर रहेको बताए । उनले भने, ‘तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरुको पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सकेमामात्र जनताको विकासको चाहना पूरा गर्न सकिन्छ ।’ उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नुपर्ने भन्दै उनले यसका लागि संघ सरकारसँग सहयोग मागिरहेको बताए । पोखरामै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको भन्दै उनले यसबाट अधिकतम लाभ लिन आजैबाट तयारी थाल्नुपर्ने बताए । पर्यटन मात्र होइन अरु सबै खालका व्यवसाय प्रवद्र्धनमा यो विमानस्थलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उनले भनाइ राखे ।

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि संघ सरकारले काम थालिसकेको भन्दै उनले यसपछि गण्डकी प्रदेश र राजधानी पोखराको आर्थिक गतिविधि थप मजबुत हुने बताए । उनले भने, ‘यहाँको विमानस्थल अनि राजमार्ग प्रयोग गरेर आयात प्रतिस्थापन गरी निर्यात बढ्दा प्रदेश आफै समृद्ध हुन्छ ।’ पारदर्शिता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्तरुप दिन खर्च प्रणालीमा मितव्ययिता र पारदर्शितामा सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रतिकुल समयबीच व्यवसायीहरु रहेको भन्दै उनीहरुको वाध्यता आफूले बुझेको बताए । मुख्यमन्त्री पोखरेलले स्रोत र आवश्यकताबीच धेरै खाडल रहेको भन्दै यही चुनौती खेपेर सरकारले काम थालेको बताए । २१ अर्ब केन्द्रको अनुदान हुँदा हामीले ३० अर्बको बजेट ल्याउनुपर्ने वाध्यता औंल्याउँदै आन्तरिक राजश्व वृद्धि नगर्दासम्म प्रदेशमा ठूला परियोजना परिकल्पना गर्न नसकिने उनको भनाइ थियो । बजेट वितरणमा संघ सरकार अनुदार रहेको भन्दै उनले यो प्रक्रिया संघीय लोकतान्त्रिक पद्धतिकै प्रतिकुल रहेको बताए ।

अर्थमन्त्री रामजी बराल जीवनले सानो बजेट लिए सरकार अगाडि बढेको भन्दै निजी क्षेत्रलाई साथमै लिएर आफूहरुले काम गर्ने बताए । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले व्यवासायीहरुलाई खोप प्रदान गर्न लागि परेको भनाइ राखे ।

कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले सरकार आफैले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले त्यस्तै खालको वातावरण बनाउनुपर्ने बताए । व्यवसायीहरु अहिले चौतर्फी मारमा परेको भन्दै उनले तर पनि उनीहरुको पहिलो माग खोप नै रहेको भन्दै यसका लागि प्रदेश सरकारले सहजीकरण गरिरहेको बताए । कम्पनी रजिस्टारको कार्यालय पोखरामा ल्याउन आवश्यक रहेको उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले समावेशिताका आधारमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रदेशको राजधानी पोखराको समग्र विकासका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताए । पोखरा लगायत आसपासमा तीब्र सहरीकरण भइरहेको भन्दै उनले यसतर्फ पनि बेलैमा सोच्न आग्रह गरे । पोखरा चक्रपथको आवश्यकता महसुस गरी आयोजना अगाडि बढाउन उनले सुझाव दिए ।

निजी क्षेत्रलाई साथमै लिएर विकासको पथमा लम्कन उनले आग्रह गरे । उनले भने, ‘राजनीतिक कुरा धेरै नगर्नुस्, आर्थिक क्षेत्रका कुरा गर्नुस्, जति बोल्नुहुन्छ, त्यसलाई काममा देखाउनुहोस् ।’ अरु प्रदेशभन्दा गण्डकीको बजेट कम भएको, विदेशी लगानी समेत कम भएको भन्दै यसका लागि प्रदेश सरकारले संघ सरकारसँग लबिङ गर्न पछि पर्न नहुने भनाइ उनले राखे । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहे पनि उडान भर्ने रुटका बारेमा अझै निर्णय हुन नसक्दा अलमल भएकाले यसमा प्रदेश सरकारले पहल गर्नुपर्ने भनाइ राखे ।
नेपाल उद्योग वाणज्य महासंघ केन्द्रीय सदस्य बाबुराम गिरीले चुनौतीबीच आएको अहिलेको सरकारबाट आफूहरुले धेरै अपेक्षा गरेको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सहजरुपमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै प्रदेश सरकारसँग संघ सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भनाइ राखे । कार्यक्रम संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले कोरोनाले मारमा परेका व्यवसायीलाई उकास्ने गरी सरकारले पहल थाल्नुपर्ने भनाइ राखे ।

कार्यक्रममा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, जलस्रोत, सिँचाइ तथा ऊर्जा मन्त्री हरिशरण आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा, वन तथा वातावरण मन्त्री दीपक थापालाई सम्मान गरिएको थियो ।

प्रकाशित : २०७८ साउन १८ गते १९:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI