No ads found for this position

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसको मुख्य उपलब्धिहरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १९ गते ९:२१
No ads found for this position
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसको मुख्य उपलब्धिहरु
No ads found for this position

काठमाडौ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३४ वर्षीय खेलाडीले सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य गर्ने घोषणा गरेका हुन्।

“सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लने निर्णय लिएको छु। नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।”

“२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, साथी खेलाडीहरु, प्रशंशकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरु प्रति म सदैव ऋणी रहनेछु।”

“क्रिकेटरको रुपमा मैले आफ्नो मन, वचन, कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानको लागि सदैव आफ्नो भूमिका निर्वाह गरें। मेरो जीवनमा मैले देखेको सपना भनेकोनै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवस्यकता छ। इमान्दारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउनेछौँ।”

“मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादको रुपमा मसंग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु। धन्यवाद !” खड्काले लेखेका छन्।

खड्काले घरेलु क्रिकेट खेल्न भने निरन्तरता दिने छन्। उनि सेप्टेम्बर २५ तारिख ( असोज ९ गते ) देखि सुरु हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल टि-२० ) मा बिराटनगर वारियर्सको कप्तानको रुपमा खेल्नेछन्।

पारसले अन्तिम पटक नेपाली राष्ट्रिय टिमको लागि गत वर्ष मार्चमा थाइल्याण्डमा आयोजित एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगिता खेलेका थिए।

नेपाली क्रिकेट टिमको सर्वाधिक सफल कप्तान पारसको सबैभन्दा ठुलो उपलब्धि नेपाललाई २०१४ टि-२० विश्वकप पुर्याउनु हो। नेपाली सिनियर टिमले पहिलो र अन्तिम पटक विश्वकपमा सहभागिता जनाएको थियो। त्यस बाहेक पारसको कप्तानीमा नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउनु ठूलो उपलब्धि रह्यो। उनकै कप्तानीमा नेपालले २०१८ मा नेदरल्याण्ड बिरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हाँसिल गरेको थियो।

पारसको कप्तानीमा नेपालले सन् २०१० को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५, २०१२ को डिभिजन-४, २०१३ र २०१४ को डिभिजन-३ प्रतियोगिताको उपाधि जित्न सफल रह्यो। यस्तै उनकै कप्तानीमा २०१२ को एसीसी ट्रफीमा नेपाल युएईसंगै संयुक्तविजेता बन्न सफल भएको थियो।

२०१९ अक्टोबरमा पारसले राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका थिए जसपछि ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालीरहेका छन्। सन् २००९ मा नेपालको कप्तानी सम्हालेका पारस सबैभन्दा धेरै वर्ष नेपालको कप्तानी गर्ने खेलाडी हुन्।

पारसको कप्तानीमा नेपालले २७ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्यो जसमा नेपालले ११ जित र १५ हार बेहोर्यो। यस्तै उनले ६ एकदिवसीय अन्तर्राष्ट्रियमा नेतृत्व गर्दा ३ खेलमा जित र ३ खेलमा नेपालले हार बेहोर्यो।

पारस नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रनकर्ता हुन्। उनले एकदिवसीयमा १० खेलमा १ शतक र १ अर्धशतक मद्दतले ३१५ रन तथा टि-२० मा ३३ खेलमा १ शतक र ४ अर्धशतक मद्दतले ७९९ रन बनाएका छन्। दुवै फर्म्याटमा शतक प्रहार गर्ने उनि पहिलो नेपाली खेलाडी समेत हुन्। उनले २०१९ मा युएई बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा तथा सोहि वर्ष सिंगापुर बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा शतक बनाएका थिए।

सन् २००४ मा मलेसिया बिरुद्ध आईसीसी इन्टरकन्टिनेन्टल कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका उनले त्यस अघि नेपाली उमेर समुह टिमको प्रतिनिधित्व गरेका थिए।

प्रकाशित : २०७८ साउन १९ गते ९:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI