विघटित आयोगले गर्यो कार्य प्रगति सार्वजनिकः नवलपुरमा ३३६३५ वटा भूमि सम्वन्धी समस्या पहिचान

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २१ गते २०:२३
विघटित आयोगले गर्यो कार्य प्रगति सार्वजनिकः नवलपुरमा ३३६३५ वटा भूमि सम्वन्धी समस्या पहिचान

खगेन्द्र पराजुली/नवलपुर ।

बिघटित भूमि सम्वन्धी समस्या समाधान आयोग नवलपुरले ६ महिनामा भए गरेका कार्य प्रगति सार्वजनिक गरेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा आज बिहीवार पत्रकार सम्मेलन गरी जिल्ला आयोगले प्रगति विवरण सार्वजनिक गरेको हो ।

आयोगका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सदस्य रामकृष्ण ढुंगानाले विवरण प्रस्तुत गरे ।
ढुंगानाले गण्डकी प्रदेशमै सवैभन्दा धेरै भूमिसम्वन्धी समस्या नवलपुरमा रहेको विवरण प्रस्तुत गरे ।

२०६६ सालको मनशोभा आयोग लगायत यसअघिका आयोगले काम शुरु गरेका तर सम्पन्न हुन नसकेका ३ हजार चार सय ८७ निवेदन रहेको जानकारी गराईएको थियो । ढुंगानाका अनुसार प्रदेशभरि यो किसिमको समस्या ७ हजार ५ सय ३ रहेको छ ।

यस्तै, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अब्यवस्थित बसोबासी गण्डकीमा ९३ हजार हाराहारी रहँदा नवलपुरमा मात्रै ३३ हजार ६ सय ३५ रहेको छ । नवलपुरमा भूमिहीन दलित २हजार ४ सय २३, भूमिहीन सुकुम्वासी ५ हजार ३ सय ५ र अब्यवस्थित बसोबासी २९ हजार ९ सय ७ रहेको छ ।

विघटित आयोगका अध्यक्ष कृष्ण घिमिरेले राजनैतिक आग्रह पुर्वाग्रहमा आयोग खारेज गर्नु बर्तमान सरकारले गल्ती गरेको आरोप लगाए । उनले अहिलेसम्मकै ब्यवस्थित र बैज्ञानिक आयोग बनेको र आयोगले छोटो समयमा धेरै प्रगति हासिल गरेको दावी गरे ।

२०७७ माघ १९ गते नवलपुरको अध्यक्षमा नेकपा एमालेका कृष्ण घिमिरे, विज्ञ सदस्यमा एमालेकै रामकृष्ण ढुंगाना र जोगमाया महतोले आयोगमा नियुक्ति पाएका थिए । आयोगले फागुन २० गते कार्यालय उद्घाटन गरी औपचारीक रुपमा काम थालेको थियो ।

प्रकाशित : २०७८ साउन २१ गते २०:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI