आफ्नै बुबा र काकाबाट ११ वर्षीया बालिका बारम्बार बलात्कृत

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २५ गते ११:३८
आफ्नै बुबा र काकाबाट ११ वर्षीया बालिका बारम्बार बलात्कृत

गोरखा, २५ साउन । गोरखाको पालुङ्टार नगरपालिका–८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरी बिरामी बनाएको घटना सार्वजनिक भएको छ ।

११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले बलात्कार गरेको बालिकाले बताएकी छिन् । सानै उमेरमा पाठेघरको बिरामी बनेकी उनले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो रहस्य उजागर गरेको प्रहरीले बताएको छ ।

श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार जबर्जस्ती करणी गर्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन् । साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई बलात्कार गरेको उनले फुपूलाई बताएकी थिइन् ।

छोरीलाई बलात्कार गरेको आरोपमा पीडितकी फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । सोही जाहेरीको आधारमा प्रहरीले मेखराज र लीलाकान्तलाई गत शुक्रबार पक्राउ गरेको छ ।

प्रकाशित : २०७८ साउन २५ गते ११:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI