बाँके निकुञ्जमा ३५८ वन्यजन्तु मारिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २८ गते १०:५४
बाँके निकुञ्जमा ३५८ वन्यजन्तु मारिए

बाँके। बाँके जिल्लाको निकुञ्जभित्रको राजमार्ग वन्यजन्तुका लागि विद्युतीय धरापजस्तै खतरा भएको छ। पछिल्लो सात वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको सङ्ख्या बढ्दो छ। तीव्र गतिमा चलाइने सवारी साधनका कारण राजमार्गमा वन्यजन्तु मारिने क्रम रोकिएको छैन।

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग र कोहलपुर–सुुर्खेत सडकखण्डअन्तर्गत रत्न राजमार्गमा गुड्ने यातायातका साधनका कारण पछिल्लो सात वर्षमा सवारी दुर्घटनामा परी ३५८ वन्यजन्तु मारिएका छन्। आर्थिक वर्ष ०७७र०७८ मा मात्र पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा गुड्ने यातायातका साधनले ४३ वटा वन्यजन्तुको कुल्चेर मृत्यु भएको छ। गत आवमा अन्य कारणले २५ वटा वन्यजन्तुको मृत्यु भएको छ।

“निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तुका लागि जोखिम बनेका छन्”, निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले भने, “तीव्र गतिमा गुड्ने यातायातका साधनले सडक वारपार गरिरहेका वन्यजन्तुलाई कुल्चेर भाग्ने गर्छन्।” राजमार्गमा यातायातका साधन तीव्र गतिमा गुड्ने भएकाले सडक वारपार गर्ने क्रममा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको उनले बताए। यसरी यातायातका साधनले कुल्चेर मर्नेमा सबैभन्दा धेरै चित्तल, बँदेल र बाँदर प्रजातिका वन्यजन्तु रहेका छन्।

निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेले राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापर्बाहीले वन्यजन्तु जोगाउन मुस्किल परेको बताए। उनले सबैभन्दा बढी सडक दुर्घटनामा परी पूर्वपश्चिम राजमार्गमा मारिने गरेको बताए। रासस

प्रकाशित : २०७८ साउन २८ गते १०:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI