कालीगण्डकी गाउँपालिकामा नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३० गते ९:२०
कालीगण्डकी गाउँपालिकामा नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ ।

गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । “शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा समेटेका छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।”

गाउँपालिकाभित्रका कोही पनि नागरिकलाई स्वास्थ्यको पहुँचबाट वञ्चित हुन नपरोस् भन्ने र समय–समयमा स्वास्थ्य परीक्षण गर्न तथा बिरामी पर्दा सहजरुपमा उपचार गर्न सकुन् भन्ने गाउँपालिकाको मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले बताउनुभयो । उक्त कार्यक्रमका लागि झण्डै रु दुई करोड लाग्ने अनुमान गाउँपालिकाको छ । रु एक करोड ५० लाख विनियोजन गरिए पनि रु ५० लाख जति रकम अभाव हुनसक्ने देखिएकाले थप गरिने अध्यक्ष थापाले बताउनुभयो ।

स्वास्थ्यको पहुँच सबै नागरिकसमक्ष पु¥याउँदै स्वस्थ नागरिकसहितको समृद्ध गाउँपालिका बनाउने लक्ष्य प्राप्तिका लागि यस अभियानमार्फत सहजता हुने अध्यक्ष थापाले बताउनुभयो । एउटा परिवारमा एकदेखि दश जनासम्म रहेका छन् ।

गाउँपालिकाले यो अभियान कार्यान्वयनमा ल्याएसँगै हालसम्म एक हजार ५१४ घरधुरीका सात हजार बढी सङ्ख्या लाभान्वित भइसकेका स्वास्थ्य शाखाका प्रमुख खड्का थापाले बताउनुभयो । गाउँपालिकाका चार हजार ७०० घरधुरीका २२ हजार ७३५ लाई सेवा उपलब्ध गराइने भएको छ । आगामी असोज महिनासम्ममा यो अभियानलाई हरेक नागरिकसम्म पु¥याई सकिने शाखा प्रमुख थापाले बताउनुभयो ।

प्रकाशित : २०७८ साउन ३० गते ९:२०
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI