‘घानीले अफगानिस्तान छाड्दा हेलिकप्टर र गाडीभरि पैसा लगे’

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३२ गते १८:३४
‘घानीले अफगानिस्तान छाड्दा हेलिकप्टर र गाडीभरि पैसा लगे’

काठमाडौँ- आइतबार तालिबान काबुल प्रवेश गरेसँगै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे । उनी अहिले कहाँ छन् भन्‍ने प्रष्ट छैन । तर उनले अफगानिस्तान छाड्दा पैसाले भरिएको हेलिकप्टर र गाडी पनि साथमा लगेको दाबी गरिएको छ । यस्तो दाबी रुसी समाचार एजेन्सी रियाले गरेको हो ।

रियाको दाबी रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । रियालसँग कुरा गर्दै काबुलस्थित रुसी राजदूतावासका प्रवक्ता निकिता इस्चेन्कोले अफगानी राष्ट्रपति घानीले आफूसँग पैसा बोकेको एक हेलिकप्टर र चार गाडीसँगै लगेको बताएका छन् ।

‘चार गाडीभरी पैसा थियो । बाँकी पैसा हेलिकप्टरमा राखियो । तर सबै पैसा हेलिकप्टरमा अटेन । त्यसकारण नअटेको पैसा अफगानिस्तानमै छाडियो । घानीले पैसा लिएर अफगानिस्तान छाडेको दृश्यले यस मुलुकमा कसरी सत्ता परिवर्तन भयो भन्‍ने बारेमा प्रष्ट पार्छ,’ इस्चेन्कोले रियासँग भनेका छन् ।

रोयटर्सले इस्चेन्कोलाई सम्पर्क गर्दा उनले आफूले रियसँग घानीका विषयमा कुरा गरेको बताएका छन् । यद्यपि घानी पैसा सहित उडेको भने स्वयम आफूले नदेखेको बताएका छन् । उनले आफ्नो दाबीको स्रोत एक प्रत्यक्षदर्शी रहेको पनि बताएका छन् । रोयटर्सका अनुसार घानीमाथि लगाइएको आरोपको स्वतन्त्र पुष्टि भएको छैन ।

घानीको सरकार ढलेसँगै रुसले तालिबानसँग सम्बन्ध विस्तार गर्ने बताएको छ । यद्यपि तालिबान र उसले बनाउने सरकारलाई आफूले मान्यता दिन हतार नगर्ने रुसले स्पष्ट पारेको छ । तालिबानले कस्तो किसिमको व्यवहार देखाउँछ, त्यसको विश्लेषण गरेर मात्र निर्णय लिने रुसको भनाइ छ ।

उता अफगानिस्तानका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रतिनिधि जमिर काबुलोभले हालै ढलेको अफगानी सरकारले ढुकुटीमा कति पैसा छाडेको छ भन्‍ने बारेमा अहिले नै केही भन्‍न नसकिने बताएका छन् ।

‘अफगानिस्तान छाडेका घानी र ढलेको उनको सरकारले ढुकुटीमा पैसा छाडेका छन् भन्‍ने अपेक्षा छ । आशा छ, उनीहरूले सबै लिएर गएका गएका छैनन्,’ काबुलोभले मस्कोको एखो मोस्कोभी रेडियोसँगको कुरा गर्दै भनेका छन् ।

प्रकाशित : २०७८ साउन ३२ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI