भारतीय लागूऔषध कारोबारी नवलपरासीको सीमा क्षेत्रबाट पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २ गते ९:१५
भारतीय लागूऔषध कारोबारी नवलपरासीको सीमा क्षेत्रबाट पक्राउ

परासी – नवलपरासीको नाकाहुँदै नेपालमा लागूऔषध पठाउने भारतीय कारोबारी पक्राउ परेका छन् । उनलाई नवलपरासीको सीमा नाका महेशपुर नजिकको भारतीय बजार ठूठीबारीको मर्चहवा क्षेत्रबाट भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला ठूठीबारी जमुइकला गाउँका ४८ वर्षिय गोबिन्द गुप्ता(रौनियार छन् । शनिबार पक्राउ परेका गुप्तालाई मंगलबार ठूठीबारीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको त्यहाँका पत्रकार मनोज कुमार जोशीले बताए । नवलपरासीको सीमावर्ती क्षेत्रमा लुक्दै आएका गोबिन्द लुकेर मर्चहवा जाने क्रममा पक्राउ परेका हुन् । उनलाई नवलपरासी प्रहरीले समेत खोजी गरिरहेको थियो ।

१५ दिनअघि गोबिन्दको घरमा रहेको गोदामबाट करिब २ करोड नेपाली रुपैयाँ बराबरको लागूऔषध प्रहरीले बरामद गरेको थियो । भारतीय प्रहरीले बरामद गरेका विभिन्न सिरफ, ट्याब्लेट, सिरिञ्ज, एप्पुललगायतका लागूऔषधको अन्तराष्ट्रिय मूल्यको आधारमा ६ अर्ब ६८ करोड भारतीय रुपैयाँ बताउँदै आएको छ । प्रहरीले ६ सय ६८ करोड रुपैयाँको लागूऔषध रहेको बताए पनि ठूठीबारी बजारमा बिक्री गरिने मूल्य करिब २ करोडको हाराहारीमा रहेको औषधि व्यवसायीहरुले बताउँदै आएका छन् । लागूऔषध बरामदसँगै उनका भाई रमेशलाई पक्राउ गरेपनि मुख्य नाइके गोबिन्द भने फरार रहेका थिए ।

पक्राउ परेका गोबिन्दले आफूले यसअघि पनि लागूऔषधको कारोबार गर्दै आएको बताएका छन् । आफूले लागूऔषध कोलुई बजारका एक व्यक्तिको सहयोगमा ल्याउने र सबै लागूऔषध नवलपरासीको नाकाहुँदै नेपाल पठाउने प्रहरी समक्ष बताएका छन् । ठूलो परिमाणमा लागूऔषध पक्राउ परेपछि फरार रहेका गोबिन्दको खोजबिन गर्न कोतवाली थाना ठूठीबारीका थानाअध्यक्ष (सव इन्स्पेक्टर) सञ्जय दुवेको नेतृत्वमा ३ सदस्यिय एसआइटी टिम( विशेष अनुसन्धान टोली) गठन गरेको थियो । प्रहरीले फरार रहेका गोबिन्दलाई पक्राउ गरेर बुझाउने वा सूचना दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रकाशित : २०७८ भदौ २ गते ९:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI