हुप्सेकोटमा जनप्रतिनिधिको ४ वर्ष

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २ गते १८:५२
हुप्सेकोटमा जनप्रतिनिधिको ४ वर्ष

कावासोती । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलाले नेतृत्व गरेको पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले जनप्रतिनिधी निर्वाचित भएर आए पछिको प्रगति विवरण सार्वजनिक गरेको छ ।

मंगलबार गाउँपालिकामा पत्रकार सम्मेलन आयोजना गरेर हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले ४ वर्षको प्रगती विवरण सार्वजनिक गरेकी हुन ।

आफुहरु जनप्रतिनिधीमा निर्वाचित भएर आए पछिको ४ वर्षको समयमा हुप्सेकोटले विकासमा फट्को मारेको दाबी गर्दै अध्यक्ष पाण्डेले ४ वर्षमा ९.५९ किलोमिटर बाटो कालोपत्रेमा परिणत र ९ किलोमिटर बाटो निर्माणधिन अवस्थामा रहेको बताईन । गाउँपालिका स्थापना हुँदा १४२.५ किलोमिटर कच्ची बाटो रहेकोमा ४ वर्षको अवधिमा बाटो बिस्तार गरेर २९०.३ किलोमिटर पुर्याईएको , ७.५१ किमी ग्रयाबेल बाटोको स्तरउन्नती र १५३.५ किमि बाटोलाई ग्रयाबेल गरि हरेक वर्ष मर्मत सम्भार गर्ने गरिएको पत्रकार सम्मेलनमा पाण्डेले बताईन ।

पाण्डे नेतृत्व स्थानीय सरकारको ४ वर्षको अवधिमा २३ किमि सिचाई कुलो निर्माण, ४८ किमि सिचाई कुलो मर्मत, १५ किमि खानेपानी पाईपलाईन बिस्तार, ५ वटा झोलुङगे पुल निमार्ण भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । त्यस्तै उज्यालो हुप्सेकोट अभियान अन्तरगत यसै वर्ष भित्र गाउँपालिकाको सबै वडामा बिजुली बत्ती बल्ने , गाउँपालिकाको सबै वडालाई गाउँपालिकाको केन्द्र सँग जोडने गरि सुरु गरिएको हुप्सेकोट चक्रपथको ट्रयाक निर्माण यसै आ.व भित्र सम्पन्न हुने गरि काम अगाडी बढाईएको, ९ करोड ७१ लख लागत अनुमानमा गाउँपालिकाको प्रशासनिक भवन निमार्णको काम अगाडी बढार्ईएको, ५ वटा वडा कार्यालयहरु आफनै भवनबाट सन्चालन भएका र वडा नं ६ को भवन निमार्णको अन्तिम चरणमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

स्थापनाको पछिल्लो ४ वर्षमा १९ वटा विद्यालयमा ६४ वटा पक्की कक्षा कोठा, ८ वटा विद्यालयमा ११ वटा शौचालय, १३ वटा विद्यालयमा विद्युतीय हाजीरी प्रणाली, शिक्षक तालीम, दुई वटा विद्यालय मर्ज , ३८ वटा विद्यालयमा रहेका बालविकास कक्षालाई शैक्षिक सामाग्री प्रदान ४ वटा विज्ञान प्रयोगशाला, ६ वटा आईसिटी प्रयोगशाला, ४ वटा पुस्तकालय निमार्ण, प्रावि तहमा २५, निमावि तहमा १ र मावि तहमा १ वटा थप शिक्षक दरबन्दी वितरण गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले बताईन । त्यसै गरि हुप्सेकोट प्राविधिक शिक्षालय स्थापना गरि कृषि र बाली विज्ञानको ३ वर्षे डिप्लोमा तहको कक्षा सन्चालन गरिएको पाण्डेले बताईन ।

गाउँपालिकाको सबै वडामा आधारभुत स्वास्थ्य केन्द्रको सन्चालन गरिएको, सुत्केरी महिलालाई ५ हजार पोषण भत्ताको व्यवस्था, २ वटा वर्थिङ सेन्टरको सन्चालन, देउराली स्वास्थ्य चौकीको स्तरउन्नती, धौवादी स्वास्थ्य चौकीको लागी जग्गा व्यवस्थापन, आर्युवेद सेवा केन्द्रको स्थापना, आँखा उपचार केन्द्रको स्थापना पछिल्लो ४ वर्षमा गरिएको पाण्डेले बताईन ।

चालु आ.वमा संघिय सरकार र गाउँपालिकको संयुक्त लगानीमा ४ करोड १६ लाखको लगानीमा रुद्रपुर गढी पर्यटकीय विकास कार्यक्रम सन्चालन गर्न लागिएको अध्यक्ष पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराईन । त्यस्तै हिल स्टेशन निमार्णको लागी गण्डकी प्रदेश सरकारले रुद्रपुर गढिलाई छनौट गरेको र यसै आ.व.बाट काम सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
४ वर्षको अवधिमा १६ वटा ऐन, ३३ वटा कार्यविधी ३ वटा नियमावली पारीत गरि कार्यान्वयनमा आएको अध्यक्ष पाण्डेले जानकारी दिईन ।

 

कार्यकालको अन्तिम वर्ष महत्वाकाक्षीं कार्यक्रम

गाउँपालीकाले चालु आ.व ०७८ ७९ का लागी कुल ५४ करोड ७९ लाखको बजेट ल्याएको छ । कार्यकालको अन्तिम वर्ष र यस पछि निर्वाचन हुने भएकाले पनि चालु आ.व. ०७८ ७९ मा महत्वाकाक्षीं कार्यक्रमहरु समेटेर बजेट ल्याईएको छ । चालु आ.व.मा गाउँपालिकाले किसान पेन्सन कार्यक्रम, दुधमा अनुदान कार्यक्रम, छोरीको सुनौलो भविष्य कार्यक्रम, राहत तथा करार  शिक्षक कल्याणकारी कोष स्थापना, एकल महिला संग स्थानिय सरकार,खानेपानीको न्युनतम महसुल पालिकाले तिर्ने कार्यक्रम जस्ता महत्वकाक्षीं योजना समेटीएको हो ।

प्रकाशित : २०७८ भदौ २ गते १८:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI