देउवा प्रधानमन्त्री भएपछिको पाँच हप्तामा ४८ लाख बढीले लगाए कोरोना खोप

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ५ गते १५:२६
देउवा प्रधानमन्त्री भएपछिको पाँच हप्तामा ४८ लाख बढीले लगाए कोरोना खोप

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निशुल्क खोप दिलाउने घोषणा गरेका थिए ।

उनी प्रधानमन्त्री भएयता गत बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ ।

त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। त्यस्तै ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् ।

देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको छ ।

सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ ।

प्रकाशित : २०७८ भदौ ५ गते १५:२६
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI