गैँडा तस्कर पक्राउ पछि थप तीन गैँडा मारिएको खुल्यो रहस्य

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १० गते १९:२०
गैँडा तस्कर पक्राउ पछि थप तीन गैँडा मारिएको खुल्यो रहस्य
फायल तस्बिर

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत वर्षयता तस्करबाट पाँच वटा गैँडा मारिएको भनिए पनि अभियुक्त पक्राउसँगै थप तीन गैँडा मारिएको खुल्न आएको छ । निकुञ्जले पछिल्लो समय ३० अभियुक्त पक्राउ गरेसँगै उनीहरुको बयानबाट थप तीन वटा गैँडा मारेको खुल्न आएको हो । निकुञ्ज क्षेत्रमा तस्करले थप गैँडा मारेको हुनसक्ने आशङ्कासँगै सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गत वर्षको वैशाखदेखि भदौसम्म निकुञ्जभित्र तस्करले गैँडा मारेको खुल्न आएको बताए । निकुञ्जको आइल्याण्ड क्षेत्रमा गत वर्षको कात्तिक १८ गते एउटा, २१ गते दुई वटा र मङ्सिर १ गते एउटा गैँडा मारिएका अवस्थामा भेटिएको थियो । कात्तिक २१ गते भेटिएका माउ बच्चा हुन् । ती दुई वटा र मङ्सिर १ गते कङ्कालमात्रै भएको गैँडा खागखुरविहीन थिए । कात्तिक १८ गते मारिएको गैँडाको टाउकामा गोली लागेको भए पनि खाग खुर सुरक्षित थियो ।

त्यसैगरी विसं २०७६ भदौमा सोही आसपास क्षेत्रमा एउटा गैँडाको कङ्काल भेटिएको थियो । माडीको घाँघर पश्चिममा गएको साउन ११ गते एउटा गैँडा खाग काटिएको अवस्थामा भेटिएको थियो । घाँघरकै दक्षिणपूर्व अर्को गैँडाको कङ्काल मात्रै भेटिएको थियो । साउन ११ गते भेटिएको गैँडा तस्करबाट मारिएको भनिए पनि दक्षिणतर्फ भेटिएको कालगतिले मरेको हुनसक्ने आशङ्का गरिएकामा अभियुक्त पक्राउसँगै तस्करीबाट मारिएको खुल्न आएको बरालको भनाइ छ ।

अभियुक्तले सो गैँडाको टाउको कुहिएपछि खाग झिकेको अनुमान गरिएको छ । डुमरिया क्षेत्रमा अर्काे एउटा गैँडा मारेर खाग लगेको पक्राउ परेकाको बयानमा उल्लेख छ । सो क्षेत्रमा मृत शरीर भने हालसम्म फेला परेको छैन ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकाको बयानका आधारमा माडीमा एउटा, डुमरियामा एउटा र आइल्याण्ड क्षेत्रमा एउटा गैँडा गरी थप तीन वटा गैँडा तस्करले मारेको खुल्न आएको हो । यससँगै गत वर्षयता हालसम्म तस्करले आठ वटा गैँडा मारेको उनले जानकारी दिए ।

निकुञ्जको तथ्याङ्कमा गत वर्ष चार वटा र यस वर्ष एउटा मात्रै गैँडा तस्करले मारेको उल्लेख छ । यस वर्ष प्राकृतिक कारणले हालसम्म छ वटा गैँडा मरिसकेका छन् । अधिकारीको भनाइमा तस्कर पक्राउ पर्दै जाँदा मारिएका गैँडाको सङ्ख्या बढ्दै गएको छ । कतिपय तस्करले मारेका गैँडाको हाडखोरसमेत नभेटिएको हुनसक्ने आशङ्कामा निकुञ्जका शङ्कास्पद क्षेत्रमा सुरक्षा अवस्थालाई कडाइ गरिएको उन बताउछन् ।

गत वर्ष गैँडा मारिएसँगै निकुञ्जले यसअघि तस्करीमा लागेकालाई निगरानीमा राखेर अनुसन्धान गरेको थियो । सो क्रममा कारागारमा रहेकालाई समेत अनुसन्धान गरी अभियुक्त पक्राउ गर्न सफल भएको हो ।

प्रमुख संरक्षण अधिकृत बरालले तस्करीका लागि रासनपानी बोक्नेदेखि बिक्री गर्नेसम्मका गिरोह पक्राउ गर्न सफल भएको बताए । थप अभियुक्त नजिक पुगेको उनले बताए ।

पछिल्लो समय पक्राउ परेका उच्च तहमा पहुँच भएकासमेत छन् । नेपाल प्रहरीको घुमुवालाई समेत पक्राउ गर्न सकिएको भन्दै उनले जो कोही भए पनि नछाडिने बताए । यो निकुञ्जमा देशकै सबैभन्दा बढी गैँडा रहेको छ । गत वर्षको गणनामा नेपालमा ७५२ गैँडा भेटिएकामा यहाँ मात्रै ६९४ रहेका थिए ।-रासस

प्रकाशित : २०७८ भदौ १० गते १९:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI