पश्चिम नवलपरासीको सात वटै स्थानीय तह जलमग्न

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ११ गते १५:०४
पश्चिम नवलपरासीको सात वटै स्थानीय तह जलमग्न

परासी  । लगातार अविरल वर्षाको कारणले पश्चिम नवलपरासीको सात वटै स्थानीय तह डुबानको चपेटामा परेको छ। अधिकांश भूभाग जलमग्न भएको छ । जिल्लाको सरावल,प्रतापपुर,पाल्हिनन्दन,सुस्ता गाउँपालिका,रामग्राम,बर्दघाट र सुनवल नगरपालिकाको अधिकांश भूभाग वर्षाको कारणले जलमग्न भएको हो ।

लगातार अविरल वर्षाको पानी निकास नभएको कारणले नै जिल्लाको सदरमुकाम परासी बजार पूर्ण रूपमा डुबानमा परेको स्थानीय पत्रकार हुसेन अन्सारी बताए । झरहि खोलाको सरसफाइ नभएको कारणले गर्दा परासी डुबानमा परेको स्थानीयवासीले बताउँछन् ।

सुस्ता गाउँपालिकाको वार्ड न १ बरुवा बजार पनि यतिखेर पूर्ण रूपमा डुबानमा परेको छ भने त्यहाँका स्थानीय व्यक्तिहरूले आ आफ्नो लत्ताकपडा, खानेकुरा,अतिआवस्यक कागजातहरू लिएर कोटेश्वर मन्दिरको अग्लो स्थानमा बसिरहेका छन् । घर र पसलहरूमा पानी पसेर डुबान भएपछि के कति क्षति भएको अहिले यकिन हुन सकेको छैन ।

त्यस्तै नेपालको ऐतिहासिक भूमि नारायणी नदी पारीको गाउँ सुस्तामा पनि नारायणीको बहाव बढेर पानी पसेको छ भने त्यहाँका स्थानीयबासीहरुको खाद्यान्न,लत्ताकपडा र आवश्यक कागजातहरू सहित व्यक्तिहरूलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षित स्थान तर्फ लगिरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र कुमार जयसवालले जानकारी दिएका छन् ।

वर्षाको पानी निकास नभएर बर्सेनि डुबानको समस्या भोग्न परेको जिल्लाको सदरमुकाम परासी, पाल्हिनन्दन गाउँपालिकाका शंकरपुर,रामपुर खडौना, सरवालको डुबन्तापुर,पुसौली,भुजहवा र प्रतापपुरको वार्ड न ३ र ४, सुस्ताको वार्ड न १ बरुवा र नदीपारिको गाउँ सुस्ता लगायत अन्य स्थानहरू यतिखेर जलमग्न भएको दृश्य देख्न सकिन्छ ।

पाल्हिनन्दनको झरहि खोला र सरवालको धनेवा खोला सरसफाइ नभएको कारणले सरावल र पाल्हिनन्दनको आधा दर्जन भन्दा बढी गाउँहरू डुबानको पिडा खेप्दै आएको र डुबानको समयले गर्दा उनीहरूले खाद्यान्नको अभाव,खानेपानी,आवतजावत र सर्पको बिगबिगी जस्ता सास्ती भोग्न परिरहेको अवस्था छ । सुनवल नगरपालिकाको पनि विभिन्न क्षेत्र डुबानमा परेको छ । सुनवल-१० भुडिया टोल डुबानमा परेको छ । वर्षाका कारण सुनवल  नगरपालिकाको वडा नम्बर ३ मा पनि डुबान भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवल स्थित तुरियाखोलाको पुल उच्च जोखिममा परेको छ । अहिले पुलबाट सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा विभिन्न ठाउँमा बनाइएका डाइभर्सनहरूमा बाढी बगेका कारण यातायात सञ्चालन हुन सकिरहेको छैन ।

त्यस्तै बर्दघाट नगरपालिकाको विभिन्न ठाउँहरू पनि डुबानमा परेका छन् । वडा नम्बर ४ को स्मृति नगरमा रहेको मुसहर बस्ती डुबानमा परेको छ । वडा नम्बर  ६ मा पनि डुबान भएको छ । वडा नम्बर १० धुर्वटोल,वार्ड न ११ को विजयपुर, भगजोगनी, गैडाहा, मौराटारी क्षेत्रका बस्ती डुबानमा परेको स्थानीयले जानकारी दिए ।

त्यसै गरी प्रतापपुर गाउँपालिकाको डिबनी, बर्दघाटे, फटकीटोल, पिडरी, बर्गदवा, लगायतका गाउँमा पानी बसेको डिबनीका स्थानीय पीडित सदरी गुप्ताले जानकारी दिए ।

अविरल वर्षाको कारणले जिल्लाको अधिकांश स्थानहरू डुबानमा परेपछि गए रातीको १ बजे र २१ मिनेट देखि विभिन्न स्थानहरूमा उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरू परिचालन गरी उद्धार टोली खटाएको,डुबानबाट भएको क्षतिको विवरणहरू आइरहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसर पनि डुबानमा परेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमका प्रमुख धर्मेन्द्र कुमार मिश्रले बताए । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

प्रकाशित : २०७८ भदौ ११ गते १५:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI