तनहुँमा चार महिनापछि विद्यालय खुले, भाैतिक उपस्थितिमै पठनपाठन

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १७ गते १२:३३
तनहुँमा चार महिनापछि विद्यालय खुले, भाैतिक उपस्थितिमै पठनपाठन

तनहुँ । गत वैशाबाट बन्द तनहुँका विद्यालय खुल्न थालेका छन् । सहरका विद्यालयमा अनलाइन कक्षा चले पनि गाउँका विद्यार्थी पढाइबाट वञ्चित बनेकामा चार महिनापछि बल्ल विद्यालयमा पढाइ सुरु भएकाे हाे  ।

तनहुँका १० मध्ये ब्यास, भानु र शुक्लागण्डकी नगरपालिका तथा ऋषिङ र घिरिङ गाउँपालिकाका विद्यालयले भौतिक रूपमै कक्षामा विद्यार्थी राखेर पठनपाठन थालेका हुन् । यहाँ आइतबारबाट विद्यालय खुले पनि धेरैजसाेमा मंगलबारदेखि  कक्षा सञ्चालन भएका हुन् ।

स्वास्थ्यको मापदण्ड पालना गरी कक्षा चलाएको शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित तालबेसी माध्यमिक विद्यालयका प्रधानध्यापक धुर्व वाग्लेले जानकारी दिए । ‘विद्यार्थी विद्यालय प्रवेश गर्नु अघि ज्वरो नाप्छौँ । मास्क अनिवार्य गरिएको छ । सेनिटाइजर लगाएपछि मात्र कक्षा कोठामा प्रवेश गर्न दिएका छाैँ,’ उनले भने ।

एउटा बेन्चमा दुई विद्यार्थी राख्ने गरिएकाे छ । कक्षामा २५ भन्दा बढी विद्यार्थी राखिएको छैन । १-५ का विद्यार्थीलाई बिहान १० बजेदेखि दिउँसाे १ बजेसम्म र  ६-१० का विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाएको उनले बताए ।

शुक्लागण्डकी नगरपालिकामा विद्यालय खुले पनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन् । कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईँले बताए । विद्यालय नखुलेका स्थानीय तहमा पनि अनुमति मागिएकाे छ ।

स्थानीय तहाके निर्णय अनुसार विद्यालयमा पठनपाठन सुरु भए पनि  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले स्वीकृति दिएको छैन ।

प्रकाशित : २०७८ भदौ १७ गते १२:३३
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI