नवलपुरमा अधिकांश वडा कार्यसमिति सर्वसम्मत, क्षेत्रीय प्रतिनिधिमा प्रतिस्पर्धा

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २० गते १४:४६
नवलपुरमा अधिकांश वडा कार्यसमिति सर्वसम्मत, क्षेत्रीय प्रतिनिधिमा प्रतिस्पर्धा

कावासोती । नवलपुरमा काङ्ग्रेसको भोलि अर्थात भाद्र २१ गते हुने भनिएको वडा तहको अधिवेशन तयारी पूरा भएको छ ।

जिल्लाको ९२ वडामा अधिवेशनका लागि मतदान अधिकृत र निर्वाचन सामाग्री सम्बन्धित वडामा पठाईसकिएको १४ औं जिल्ला अधिवेशन सम्पन्न गर्न खटिएका प्रमुख निर्वाचन अधिकृत गोविन्द सिग्देलले बताए । ” भवितव्य आउन सक्ने प्राकृतिक प्रकोपका कारण बाहेक अब वडा अधिवेशनहरु रोकिनु पर्ने कुनै कारण छैन,सबै वडा २१ गतेनै अधिवेशन सम्पन्न गर्ने गरि सम्पुर्ण तयारी पूरा पूरा गरेका छौ,” सिग्देलले भने ।

अधिकांश वडाहरुमा वडा कार्यसमिति सर्वसम्मत : क्षेत्रीय प्रतिनिधिमा रस्साकस्सी

भाद्र २१ गते हुने वडा अधिवेशन अगावै जिल्लाका विभिन्न वडाहरुमा भएका भेलाले २१ गते अनुमोदन गर्ने गरि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत बनाउने कसरत सुरु भएको छ । यसै वर्षको अन्त्य या आगामी वर्षको सुरुमा स्थानीय तहको निर्वाचन हुने भएकाले पनि वडाहरु अन्तिम समय सम्ममा पनि सर्वसम्मत बनाउने गरि कसरत सुरु गरिएको काङ्ग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले बताए ।

अधिकांश वडामा वडा कार्यसमिति सर्वसम्मत भए पनि क्षेत्रीय प्रतिनिधिमा भने रस्साकस्सी चलेको छ । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेले गाउँ/नगर, प्रदेश निर्वाचन क्षेत्र , संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा भाग लिएर मतदान गर्न पाउने अधिकार हुने भएकाले वडाबाट नै आफ्नो पक्षमा प्रतिनिधि ल्याउन नेताहरु कम्मर कसेर लागेका छ्न ।

ठूलो पार्टी भएकोले र सबै क्षेत्रबाट प्रतिनिधित्व हुने भएकाले प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताउदै जिल्ला सभापति लामिछानेले अधिकांश वडामा क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन हुने दाबी गरे । “अधिकांश वडामा सर्वसम्मत रुपमा नै प्रतिनिधि चयन हुन्छ, सर्वसम्म्त नभए विकल्प निर्वाचननै हो तर सकभर निर्वाचनमा जाने वातावरण बन्दैन”लामिछानेले भने । निर्वाचन भईहाले पनि स्वस्थ प्रतिस्पर्धा हुने लामिछाने बताउछ्न ।

जिल्लाका ९२ वडाबाट वडा सभापति सहित १८४२ क्षेत्रीय प्रतिनिधि चयन हुने र क्षेत्रीय प्रतिनिधिले गाउँ/नगर, प्रदेश निर्वाचन क्षेत्र , संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा भाग लिएर मतदान गर्न पाउने अधिकार काङ्ग्रेसको विधानले प्रदान गरेको छ ।

 

प्रकाशित : २०७८ भदौ २० गते १४:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI