क्रियाशील सदस्यता सूचीमा नाम नभएपछि कपाल मुण्डन गरी कांग्रेसको किरियामा बसे नरबहादुर

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २२ गते १६:२५
क्रियाशील सदस्यता सूचीमा नाम नभएपछि कपाल मुण्डन गरी कांग्रेसको किरियामा बसे नरबहादुर

डडेलधुरा। २४ वर्षदेखि निरन्तर नेपाली कांग्रेसमा क्रियाशील रहेर राजनीति गरेका डडेलधुराको अमरगढी नगरपालिका– ९ का सभापति नरबहादुर पालको नाम क्रियाशील सदस्यताको सूची छैन ।

क्रियाशील सदस्यता सूचीमा नाम नभएपछि उनले सोमबार कपाल मुण्डन गरी कांग्रेसको किरिया बसेका छन् । पार्टीप्रति बफादार रही राजनीति गरेका उनलाई वाइपास गरेपछि उनले विरोधस्वरुप कपाड मुण्डन गरेर कांग्रेसको किरिया बसेका छन् ।

सोमबार कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राखेपछि उनी चर्चामा छाएका छन् । उनी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै जिल्लाको जिल्ला सभापति पनि हुन् ।

आइतबार सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको छ । कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका अनुसार चार तहबाट प्रमाणित भएकाको नाम हटाइएको छ।

वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका चार सयभन्दा बढी सदस्यको नाम हटाइएको उनले जानकारी दिएका छन्। जिल्लाबाट सिफारिस गर्दै नगरेकाको नाम क्रियाशील सदस्यको सूचीमा समावेश गरिएको उनको भनाइ छ ।

कार्यसमितिले दुई हजार पाँच सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर ५८ सय चारजनाको सूची सिफारिस गरेको थियो। जसमध्ये चार सय ४४ जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ।

प्रकाशित : २०७८ भदौ २२ गते १६:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI