हामी बाल संरक्षण नीति कार्यान्वयन गर्दै सामुदायिक विद्यालयको सिकाइ प्रक्रिया सुधार्न चाहन्छौं- म्याकडगल

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २२ गते १९:०५
हामी बाल संरक्षण नीति कार्यान्वयन गर्दै सामुदायिक विद्यालयको सिकाइ प्रक्रिया सुधार्न चाहन्छौं- म्याकडगल

लक्ष्मीप्रसाद पंगेनी/कावासोती

ब्रिटिश काउन्सिल नेपालकाले बाल संरक्षण नीति कार्यन्वयन तथा बालबालिकाको बाल अधिकार संरक्षण गर्दै सामुदायिक विद्यालयको सिकाइ प्रक्रियालाई सुधार्न व्रिटिश काउन्सिल नेपाल लागिपरेको बताएको छ | कावासोती नगरपालिका शिक्षा शाखाले सोमवार आयोजना गरेको बाल संरक्षण नीतिको वोर्ड उद्घाटन कार्यक्रममा बोल्दै ब्रिटिश काउन्सिल नेपालकी कन्ट्री डाइरेक्टर शाहिदा म्याकडगलले बाल संरक्षण नीतिलाई पालना एवं कार्यन्वयन गर्दै कावासोती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको सिकाइ प्रक्रियालाई सुधार्न ब्रिटिश काउन्सिलले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन | उनले विद्यालयको सिकाइ प्रक्रिया सुधार्न, बालबालिकाको सिकाइलाई गहन बनाउन तथा शिक्षकको पेशागत विकासमा सहयोग गर्न व्रिटिश काउन्सिल नेपालले कावासोती नगरपालिकाको सम्पूर्ण विद्यालयहरुमा ‘होल स्कुल डेभलपमेन्ट प्रोजेक्ट’ संचालन गरेको पनि बताइन | उने शैक्षिक सामग्रीको रुपमा  प्रयोग हुने २६ वटा आइरिस किट पनि कावासोती नगरपालिकलाई हस्तान्तरण गरिन | सो किट व्रिटिश काउन्सिल मार्फत आइरिस सरकारले पाइलटिंगको रुपमा कावासोती नगरपालिकालाई प्रदान गरेको हो | उक्त किट कक्षाकोठामा जडान गरिने र सो किट मार्फत शिक्षकले आफ्नो शिक्षण कार्यको आफैले स्व मुल्यांकन गर्न सक्ने

बताइएको छ |

उद्घाटन कार्यक्रममा बोल्दै कावासोती नगरपालिका तथा शिक्षा शाखाको तर्फबाट नगर शिक्षा प्रमुख छेत्रबहादुर भण्डारीले बाल संरक्षण नीतिलाई अक्षरस पालना गर्ने प्रतिबद्धता जनाउदै कावासोतीका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बाल संरक्षण नीतिको बोर्ड राखिने समेत बताए | सो बोर्डमा व्रिटिश काउन्सिलका प्रतिनिधि मण्डलका सदस्य तथा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुलेले हस्ताक्षर गरि बाल संरक्षण नीति पालना गर्ने प्रतिवद्धता समेत जनाएका थिए | प्रतिनिधि मण्डलले शिक्षा शाखाको प्रदर्शनी कक्षमा राखिएका कावासोती नगरपालिकाले प्रकाशन गरेको नगरका कोपिला, विद्यालयहरूले प्रकाशन गरेका विद्यालयका कोपिला तथा विभिन्न बालबालिकाले निर्माण गरेका सृजनात्मक चित्रकलाहरुको पनि अवलोकन गरेको थियो |

यसैबिच सोहीदिन शिव नमुना माध्यमिक विद्यालयमा बाल संरक्षण नीतिको बोर्ड अनावरण गरिएको थियो | बोर्डको अनावरण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बिश्वकर्मा, वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेल , नगरशिक्षा प्रमुख छेत्र बहादुर भण्डारी तथा व्रिटिश काउन्सिलको तर्फबाट कन्ट्री डाइरेक्टर म्याकडगलले संयुक्तरुपमा गरेका थिए | बोर्ड अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै वि.व्य.स.का अध्यक्ष बाबुराम बिश्वकर्माले बाल संरक्षण नीतिको पूर्ण कार्यान्यन गर्दै व्रिटिश काउन्सिल र कावासोती नगरपालिकाले संयुक्तरुपमा संचालन गरेको अन्तराष्ट्रिय स्कुल अवार्ड (आइएसए) परियोजना शिव नमुना माविले पनि  सफलतापूर्वक संचालन गरेको र सो परियोजना संचालनको लागि विद्यालय तथा समितिको तर्फबाट सक्दो सहयोग गर्ने बताए | वि.व्य.स. अध्यक्ष बिश्वकर्माले शिव सामुदायिक विद्यालयमा अधिकांश  गरिव, पिछडिएका, सीमान्तकृत, दलित, आदिवासी जनजातिका बालबच्चा अध्ययन गर्ने जानकारी दिंदै अन्तराष्ट्रिय स्कुल अवार्डका कार्यक्रमहरुले विद्यार्थी तथा शिक्षकहरुको कार्य क्षमतामा वृद्धि गरेको आफुले महसुस गरेको बताए | उक्त कार्यक्रमामा नगर शिक्षा समितिको तर्फबाट शान्ति निकुन्ज माविका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने तथा नवदुर्गा आधारभुत विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेको पनि उपस्थिति रहेको थियो | विद्यालयको तर्फबाट प्रधानाध्यापक अर्जुन पौडेलले सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुले बाल संरक्षण नीतिमा हस्ताक्षर गरि त्यसको कार्यन्वयनमा प्रतिवद्धता जनाएका थिए |

यस्तै गरि सोही दिन अपरान्ह व्रिटिश काउन्सिल नेपालका प्रतिनिधि मण्डल जनता माध्यमिक विद्यालय, मगरकोटले आयोजना गरेको अन्तराष्ट्रिय स्कुल अवार्ड परियोजना: चुनौती तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएको थियो | अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अन्तराष्ट्रिय स्कुल अवार्ड संयोजकहरुको उपस्थिति रहेको थियो | अन्तरक्रिया कार्यक्रममा बोल्दै बाल मावि, ढोकीका प्रधानाध्यापक दिपक घिमिरेले ब्रिटिश काउन्सिल तथा नगरपालिकाले विद्यालयमा संचालित आएसए परियोजनाहरुको प्रयाप्त अनुगमन र निरक्षण बढाउनु पर्नेमा जोड दिए  भने ज्ञानोदय मावि, कावासोती ८का सहायक प्रधानाध्यापक नारायण पाण्डेले परियोजना संचालन गर्दा तोकिएको समयमा कोर्स पुरा गर्न नसक्दा अभिभावकबाट सिकायत आउने भएकोले परियोनाहरु विद्यालय समय अघिपछि तथा विदाको समयमा संचालन गर्दा उपयुक्त हुने धारणा राखे |

कावासोती प्रावि, कावासोती-९ का प्रधानाध्यापक इश्वरी श्रेष्ठले शुरुमा परियोजना बनाउन अलमल भएको र परियोजना स्वीकृत भएपछि कोभिड १९का कारण लकडाउन हुँदा परियोजना संचालन गर्न नसकिएकोले परियोजना बुझाउने समयावधि थप्न अनुरोध गरिन भने नवदुर्गा आधारभूत विद्याल, कावासोती-२ का आइएसए संयोजक मंजु रेग्मीले १० वटा परियोजनामध्ये ५ वटा सम्पन्न भैसकेको, ३ वटा संचालनमा रहेको र २ वटा संचालनको तयारीमा रहेकोले अन्तराष्ट्रिय स्कुल अवार्ड जित्ने गरि काम गरेको बताइन | त्यस्तै जीवनज्योति माविका शिक्षक तथा आइएसए परियोजना संयोजक दिपक सुवेदीले विद्यालयका आइएसए संयोजकले परियोजना कसरी निर्माण गर्ने तथा कसरी कार्यन्वयन गर्ने भन्ने सम्बन्धमा प्रयाप्त जानकारी दिन नसकेको र आफै अलमलमा परेको हुँदा परियोजना संचालन त्यति प्रभावकारी नभएकोले अन्य परियोजना संयोजकहरुलाई पनि तालिमको आवश्यकता रहेको औल्याए |

त्यस्तै जनकल्याण मावि, कावासोती १ का शिक्षक तथा आइएसए संयोजक एलपी पंगेनीले विद्यालयमा  आइएसए परियोजना संचालनमा आएपछि शिक्षकहरुको शिक्षण रणनीति, शिक्षण संस्कृति तथा शिक्षण विधिमा परिवर्तन आएको, परम्परागत विधिहरु समूह कार्य, छलफल, सहकर्मी कार्य,  क्रियाकलापमा आधारित कार्य  र सहयोगी कार्यद्वारा प्रतिस्थापित भएको, विद्यार्थीहरुको रचनात्मकता र कल्पनाशक्ति बढेको, विद्यार्थीहरु राष्ट्रिय अन्तराष्ट्रिय घटनाक्रम तथा डिजिटल साक्षरताप्रति सजग रहेको बाताए । यस परियोजनाले शिक्षकहरुलाई पनि प्रविधिसंग अभ्यस्त गराएको उनको धारणा थियो | संयोजक पंगेनीले यो परियोजनाको महत्वको सम्बन्धमा विद्यालय प्रशासन, शिक्षक कर्मचारी, वि.व्य.स.का पदाधिकारी एवं वडा जनप्रतिनिधिहरु तथा अभिभावकहरुलाई  गहनरुपमा बुझाउनु पर्ने भएकोले उहाँहरुलाई पनि समय समयमा अभिमुखीकरण कार्यक्रम संचालन गर्नुपने खाँचो रहेको बताए | त्यस्तै जनता मावि, मगरकोटका सहायक प्रधानाध्यापक मनोजकुमार कुमार श्रेष्ठले आइएसए परियोजना संचालन गर्ने जिम्मा केवल अंग्रेजी शिक्षकहरुको मात्र भएको धारणा अन्य शिक्षकहरुमा रहेको हुँदा परियोजना सफल कार्यन्वयनको लागि यस सम्बन्धमा प्रधानाध्यापकले विशेष पहल गर्नुपर्ने आवश्यकतामा जोड दिए  | शिव मावि, कावासोती-२ का सहायक प्रधानाध्यापक तथा आइएसए संयोजक दिपकबहादुर बिस्टले कोभिड-१९को कारण परियोजना निर्धारित समयमा पुरा हुनेमा आशंका व्यक्त गरे  |  कार्यक्रममा उपस्थित प्रतिनिधि विद्यार्थीहरुले कोभिड १९को कारण आइएसए परियोजनाले गति नलिए पनि अनलाइन कक्षा भने नियमित संचालन भएको बताए | अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनता मावि, मगरकोटका वि.व्य.स. अध्यक्ष नारायण प्रसाद तिमिल्सिनाले व्रिटिश काउन्सिल र कावासोती नगरपालिको संयुक्त सहकार्यमा संचालित होल स्कुल डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गतको आइएसए परियोजना विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको हितमा रहेकोले परियोजना कार्यन्वयनमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए |

अन्तरक्रिया कार्यक्रमाका उठेका प्रश्न, समस्या तथा विषयहरुलाई व्रिटिश काउन्सिल नेपालको तर्फबाट कन्ट्री डाइरेक्टर शाहिदाले म्याकडगल तथा कनेक्टिंग क्लासरुम प्रोजेक्ट म्यानेजर गौरव शर्माले प्रष्ट पारेका थिए | कनेक्टिंग क्लासरुम प्रोजेक्ट म्यानेजर शर्माले अन्तराष्ट्रिय स्कुल अवार्ड जित्नै पर्छ भन्दा पनि विद्यार्थीको सिकाइ कसरी गहन हुन्छ र शिक्षणकार्यमा कोर स्किलका विषयवस्तुलाई कसरी समावेश गर्न सकिन्छ भन्नेमा शिक्षक  चनाखो हुनुपर्नेमा जोड दिए | उनले ७ वटा प्रोजेक्टमा ४ वटा प्रोजेक्ट सम्पन्न गरे फाउन्डेसन अवार्ड तथा पुरै प्रोजेक्ट सम्पन्न गरे फुल अवार्ड प्राप्त गर्न सकिने पनि बताए | उनले अन्तराष्ट्रिय स्कुल अवार्ड परियोजना सम्बन्धमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा वडा जनप्रतिनिधिहरुलाई पनि अभिमुखीकरण कार्यक्रमको व्यवस्था गर्दै शिक्षकलाई भौतिक उपस्थिमा तालिम दिने तथा यस वर्षको  परियोजना बुझाउने समय अक्टोबरको अन्त्यसम्म भएपनि केही समय थप गर्न पहल गर्ने बताए |  कार्यक्रमको अन्त्यमा कन्ट्री डाइरेक्टर म्याडगलले कोरोना महामारीका बिचमा पनि कावासोती नगरपालिका शिक्षा शाखा तथा विद्यालयहरुले उल्लेखनीय काम गरेको भनि प्रसंसा गरिन | उनले विद्यालयको क्षमता तथा सिमित श्रोत साधनलाई समुचित उपयोग गर्दै अन्तराष्ट्रिय स्कुल अवार्डका कार्यक्रमहरु संचालन गर्न आग्रह गरिन | उने भनिन, यो मेरो काठमाडौंभन्दा बाहिरको पहिलो भ्रमण हो | यहाँहरुको न्यानो माया र सद्भावले मलाइ धेरै उत्साह थपेको छ | तपाइँहरुको विद्यालयले भोगेको समस्याहरुलाई हामीले गम्भीररुपमा लिएका छौँ र यसको समाधानको लागि हामीले विशेष पहल गर्नेछौं | हामी अहिले कोभिड १९को जटिल परिस्थितिमा छौं, उनले भनिन, यसबाट जोगिदै विद्यार्थीको सिकाइ कार्यमा निरन्तर लाग्नुहोला | हजुरहरुको यो आतिथ्यता र सद्भाव मेरो लागि ऐतिहासिक हुनेछ | सबैलाई धेरै धन्यवाद दिन चाहन्छु |

कावासोती नगरपालिका, शिव मावि तथा जनता माविमा भएका सम्पूर्ण कार्यक्रमको सहजीकरण कावासोती नगरपालिकाका श्रोत शिक्षक तिर्थ कंडेलले गर्नु भएको थियो | कार्यक्रममा नगरपालिको तर्फबाट नगर शिक्षा अधिकारी छत्रबहादुर भण्डारी, नगर शिक्षा अधिकृत राजन पाण्डेको उपस्थिति रहेको थियो भने व्रिटिश काउन्सिल नेपालका ल्याङगुएज एण्ड एजुकेसन हेड वैशाली प्रधान, विसी प्रोग्राम म्यानेजर भोगेन्द्र लामिछाने एवं कनेक्टिंग क्लासरुम प्रोजेक्ट अफिसर सुदर्शन सुबेदीको पनि उपस्थिति रहेको थियो |

 

 

 

 

 

 

 

प्रकाशित : २०७८ भदौ २२ गते १९:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI