मुख्यमन्त्रीलाई गिज्याउदै नारायणघाट-बुटवल सडकखण्ड

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २५ गते १४:५७
मुख्यमन्त्रीलाई गिज्याउदै नारायणघाट-बुटवल सडकखण्ड

सन्जय भट्टराई/ नवलपुर ।

संघियता पछि २ वटा संघिय निर्वाचन क्षेत्र रहेको नवलपुरमा साविक नवलपरासी हुदाँ देखि बाटै जिल्लाले कार्यकारी पद नपाउदा जिल्ला विकास निर्माणको हिसाबले पछि परेको आम चासोको विषय थियो । केन्द्रमा जुन दलको सरकार भएपनि जिल्लाका माननियहरुको पहुँच नहुदा जिल्ला  ओझेलमा परेको विषय विगतका दिनमा प्रस्सतै उठने गरेका थिए ।

यसै बिच गत जेठ २८ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा  नवलपुरबाट प्रदेशसभामा निर्वाचित कृष्णचन्द्र नेपालीले कार्यभार सम्हाल्दै गर्दा सिङ्गो जिल्लाबासी खुसी भएका थिए । जिल्लाको गैडाकोट स्थायी घर भएका नेपाली यति बेला गण्डकी प्रदेशको मुख्यमन्त्री छन, जिल्लाबाट प्रतिनिधित्व गरेका सांसद मुख्यमन्त्री हुदाँ जिल्लाबासीमा विकास निमार्ण लगाएतका विषयमा अपेक्षा विगतका दिनमा भन्दा बढनु स्वाभाविकनै हो ।

थप विकास निमार्णका काम अगाडी बढाउन र जन अपेक्षा पुरा गर्न मुख्यमन्त्री नेपालीले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारले बजेट मार्फत जिल्लामा धेरै कार्यक्रमहरु ल्याएको विषयलाई नर्कान पनि सकिदैन तर विगत ३ वर्ष अगाडी ठेक्का सम्झौता भएर काम सुरु गरिएको नारायणघाट बुटवल सडकखण्डले भने यति बेला मुख्यमन्त्रीलाई गिज्याएको भान भएको छ ।

मुख्यमन्त्री भए पछि पनि पटक पटक जिल्ला भ्रमणमा आएका नेपाली जिल्ला सदरमुकाम देखि जिल्लाका अन्य पालीकाहरुमा पुग्नका लागी प्रयोग गर्ने मुख्य सडक जुन आफैमा देशको मुख्य राजमार्ग हो, यसको अवस्थाबाट मुख्यमन्त्री नेपाली जानकार छैनन भनियो भने त्यो आफैमा हास्यास्पद हुन्छ । मुख्यमन्त्री नेपालीका निजी सचिव, स्वकिय सचिव, राजनीतिक सल्लाहाकार नवलपुर घर भएका व्यक्तित्वहरु छन, मुख्यमन्त्रीको दल नेपाली कांग्रेसबाट निर्वाचित २ जना प्रदेश सांसद जिल्लाबाट छन तर नारायणघाट बुटवल सडकखण्डको दुराव्स्थाबाट मुख्यमन्त्रीको ध्यानाकर्षण भने भएको देखिदैन ।

पंक्तिकारले यति लेखि रहदा नारायणघाट बुटवल सडकखण्डको जिम्मा प्रदेश सरकारको नभएर संघिय सरकारको भन्ने पनि आउन सक्छ । पक्कै पनि साढे तीन वर्षमा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भए पछि भएपछि २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदि पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेन दाउन्नेमा ३ लेन बिस्तार गर्ने गरि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरि ठेक्का पाएको थियो । साढे तीन वर्षमा काम सक्नका लागि हरेक महिना २.५ प्रतिशतका दरले काम सम्पन्न हुनु पर्नेमा ३ वर्षको अवधिमा ८.५ प्रतिशत मात्रै काम सम्पन्न  हुदाँ दैनिक रुपमा पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड भएर यात्रा गर्ने हजारौ यात्रुहरु र सडक छेउमा घर भएका जनताले सास्ती व्यवहोरेको, दुःख पाएको विषयमा मुख्यमन्त्रीले चासो लिने कि नलिने भन्ने प्रश्न गम्भीर रुपले उठेको छ ।

 

चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनलाई ३ वर्षमा काम सम्पन्न गर्ने गरि संघिय सरकारले ठेक्का दिएको यसको निरीक्षण अनुगमन मुल्याङकन लगाएका जिम्मा संघिय सरकारको हो तर जिल्लाबाट निवार्चित भएर मुख्यमन्त्री बनेका नेपाली लगाएत जिल्लाका संघिय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधीले आम चासाको विषयलाई लिएर संघिय सरकारको ध्यानाकर्षण गराउने, निमार्ण कम्पनीलाई समयमै काम गर्न सचेत गराउने विषयमा भने मौन रहुनुले जनता प्रति उत्तरदायी भएको भने मान्न सकिदैन ।

 

यति बेला संघिय सरकारको नेतृत्व मुख्यमन्त्री नेपालीको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन । पार्टीका महामन्त्री शशांक कोईराला जिल्लाबाट निर्वाचित संघिय सांसद छन, संघिय सरकारको ध्यानाकर्षण गराएर निमार्ण कम्पनीलाई द्रुत गतिमा काम गर्न दबाब दिएर जनताको सास्ती कम गर्ने विषयलाई मुख्यमन्त्री नेपालीले चासोका साथ अगाडी बढाउनु पर्ने आम नवलपुरबासीको चाहना र अपेक्षा रहेको छ । सडक निमार्णको जिम्मा पाएको चिनियाँ कम्पनीले पटक पटक स्थानीय प्रशासनलाई नटेरेको खबरहरु आईरहदाँ यो विषयलाई विषेश गरि मुख्यमन्त्री नेपालीले नै गम्भीरता पूर्वक लिएर संघिय सरकार मार्फत निमार्ण कम्पनीको ध्यानाकर्षण गराएर निमार्णकार्य द्रुतगतिमा अगाडी बढाउने तर्फ पहलकदमी लिनु पर्ने देखिन्छ ।

प्रकाशित : २०७८ भदौ २५ गते १४:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI