अमेरिकासँग खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २८ गते १२:३१
अमेरिकासँग खेल्दै नेपाल

मस्कट (ओमान) । विश्वकप क्रिकेटको खुड्किलाका रूपमा रहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज (सोमबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालले अमेरिकाविरुद्धको खेलबाट त्रिदेशीय शृङ्खलाको सुरुआत गर्नेछ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार दिउसो ४ः१५ मा सुरु हुनेछ ।

नेपाल र अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग–२ मा तेस्रोपटक आमनेसामने हुन लागेका हुन् । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकालाई ३५ रन र आठ विकेटले हराएको थियो ।

एकदिवसीय क्रिकेटमा नेपाल र अमेरिका डिभिजन ५ देखिका प्रतिद्वन्द्वी हुन् । अहिलेसम्म नेपाल र अमेरीकाले एकदिवसीयमा ६ पटक खेलेका छन् । त्यसमध्ये तीन खेल नेपालले जितेको छ भने अमेरिकाले पनि तीन खेल जितेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा अमेरिका दोस्रो स्थानमा छ भने ओमान शीर्ष स्थानमा छ । अमेरिकाले अहिलेसम्म खेलेको १२ खेलमा ६ मा जित र ६ मा हार ब्यहोरेको छ । चार खेलबाट चार अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ । नेपालले यसअघि पनि ओमान र अमेरिकाविरुद्ध त्रिदेशीय शृंखला खेलेको हो । ओमान १६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

अमेरिकाविरुद्ध नेपाली टिमले स्पिनरलाई आफ्नो मुख्य हतियार बनाउने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् । तथापि, यसपटकको भ्रमणमा नेपाली टोलीले पाँच जना तीव्र गतिका बलर ल्याएको छ । त्यसका बाबजुद पनि कप्तान ज्ञानेन्द्रले अमेरिकाविरुद्ध स्पिनर नै आफ्नो मुख्य हतियार भएको बताए ।

“अमेरिका बलियो प्रतिद्वन्द्वी हो । उनीहरूको मिडियम पेस बलरहरू राम्रा छन् । ब्याटिङ पनि राम्रो छ,” अमेरिकाविरुद्धको खेलबारे नेपालका कप्तान ज्ञानेन्द्रले भने, “हाम्रो स्पिनर बलर राम्रा छन् । हाम्रा ब्याट्सम्यानले उनीहरूको मिडियम पेसलाई ट्याकल गरेर हाम्रो स्पिनरले राम्रो गर्यो भने नतिजा पनि राम्रो आउनसक्छ ।”

ओमान भ्रमणमा नेपाली टोलीको मुख्य स्पिनर भनेको सन्दीप लामिछाने र सुशन भारी हुन् । कुशल मल्ल पनि छन् । त्यसबाहेक पवन सर्राफ, शरद भेषावकर र ज्ञानेन्द्र आफैँले पनि ‘पार्ट टाइम’ बलिङ गर्छन् । तर, टिममा अहिले सोमपाल कामी, करण केसी, बिक्रम सोब, अभिनाष बोहरा, गुल्सनकुमार झा तीव्र गतिका बलर छन् ।

अमेरिका पछिल्लो त्रिदेशीय शृंखलाकै लागि फेब्रुअरी २०२० मा नेपाल जादाँको टोलीमा केही खेलाडी परिवर्तन भएका छन् । ओमान आउँदा अमेरिकाले केही युवा खेलाडीलाई समेटिएको छ । दुई जनाले पीएनजीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । अमेरिकामा प्रशिक्षक पनि नयाँ छन् । जे अरूण कुमारको प्रशिक्षणमा अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पहिलोपटक खेल्न लागेको हो ।

प्रकाशित : २०७८ भदौ २८ गते १२:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI