डडेलधुरा वडा अधिवेशन नमान्ने पौडेल समूहको घोषणा, पुनः अधिवेशन माग

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २८ गते १७:०६
डडेलधुरा वडा अधिवेशन नमान्ने पौडेल समूहको घोषणा, पुनः अधिवेशन माग

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर मानिएको रामचन्द्र पौडेल समूहले डडेलधुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गर्ने बताएको छ ।  गत २५ भदौमा डडेलधुरामा गरिएको वडा अधिवेशन एकतर्फी  रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनु पर्ने बताएको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आफ्नो समूहको बैठकलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले डडेलधुरामा पुनः वडा अधिवेशन गरिनु पर्ने बताए ।

उनले डडेलधुरा शैलीमा स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा पनि नदेखाउन पार्टी नेतृत्वलाई खबरदारी गरे ।

डडेलधुरामा तल्ला तहबाट सिफारिस गरी पठाइएका क्रियाशील सदस्यतामा केन्द्रबाट कटौती गरेर नाम थप गरिएको भन्दै जिल्ला नेतृत्व नै असन्तुष्ट रहँदै आइरहेको छ ।

जिल्ला सभापति कर्ण मल्लको बहिष्कारका बाबजुद त्यहाँ केन्द्रको निर्देशनमा वडा अधिवेशन गरिएको थियो । सो अधिवेशनमा सभापति शेरबहादुर देउवाबाहेकको समूहले भने सहभागिता जनाएको छैन ।

कांग्रेसले गत १८ भदौमा देशभरका ६ हजार ७ सय ४३ वडामा एक साथ वडा अधिवेशन गर्नका लागि मिति तोके पनि अहिलेसम्म ५६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । डडेलधुराको अधिवेशन विवादित छ भने त्यसबाहेक २० जिल्लामा वडा अधिवेशन शुरु नै भएको छैन ।

पछिल्लो पटक कांग्रेसले गत शुक्रवार केन्द्र र प्रदेश बाहेकका अधिवेशनको मितिलाई यथावत् राख्दै अन्य तहको अधिवेशनका मिति हेरफेर गरेको थियो ।

जस अनुसार कांग्रेसले २० जिल्लाको अधिवेशन ५ असोजलाई तोकेको छ भने पालिका तहको अधिवेशन २७ भदौबाट सारेर ९ असोजमा पुर्‍याइएको छ ।

 

प्रकाशित : २०७८ भदौ २८ गते १७:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI