नेपालको अमेरिका माथि ५ विकेटको फराकिलो जित

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २८ गते २३:५४
नेपालको अमेरिका माथि ५ विकेटको फराकिलो जित

काठमाडौ । अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपालले नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत तेश्रो जित दर्ता गरेको छ। नेपालले सबै तिन वटा जित अमेरिका बिरुद्धनै दर्ता गरेको हो। विश्वकप लिग-२ अन्तर्गत नेपालको यो पाँचौ खेलमा तेश्रो जित हो। जित पछि पनि नेपाल ६ अंक सहित अंकतालिकाको तेश्रो स्थानमा यथावत रहेको छ।

ओमानको अल अमिरात मैदानमा सम्पन्न खेलमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर ४९ ओभरमा पुरा गरेको हो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा सर्वाधिक ८४ रन बनाए जुन क्रममा ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।  यस्तै करियरको तेश्रो अर्धशतक बनाएका रोहित पौडेलले  अविजित ६२ रन बनाए जुन क्रममा ८७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै बिनोद भण्डारीले ३७, आसिफ शेखले २३, ज्ञानेन्द्र मल्लले १७ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल र आसिफ शेखले ६६ रनको ओपनिंग साझेदारी गरे जुन नेपालको सर्वाधिक ओपनिंग साझेदारी समेत हो। आसिफ १४ औं ओभरमा केंजिगेबाट क्याच आउट हुनपुगे। राम्रो लयमा देखिएका कप्तान ज्ञानेन्द्र मल्ल २१ औं ओभरमा एलबिडब्लु हुन पुगे। त्यसपछि भुर्तेलले रोहित पौडेलसंग ५१ रनको साझेदारी गरे। ३३ औं ओभरमा भुर्तेललाई निसर्ग पटेलले एलबिडब्लु गर्दै अमेरिकालाई खेलमा फर्काए। लगत्तै ओभरमा कुशल मल्ललाई कटान सौरभ नेत्रभाल्करले विकेटकिपरबाट क्याच आउट गराए।

कुशल मल्लको विकेट जाँदा १४५/४ को अवस्थाबाट रोहित पौडेलले बिनोद भण्डारीसंग ८३ रनको साझेदारी गरे। जितको लागि मात्र ३ रन आवस्यक हुँदा भण्डारीलाई केनजिगेले विकेटपछाडी क्याच आउट गराए। त्यसपछि ४९ औं ओभरको अन्तिम बलमा रोहितले २ रन लिंदै नेपाललाई जितसम्म पुर्याए।

 

अमेरिकाको बलिंगमा नोस्थुश केनजिगे ( ८-०-४३-२ ) र निसर्ग पटेलले ( १०-१-३३-२ ) समान २ विकेट तथा कप्तान सौरभ नेत्रभाल्करले १ विकेट ( १०-२-३०-१ ) लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको अमेरिकाले ५० ओभरमा ९ विकेट क्षेतीमा २३० रन बनाएको थियो। उसको लागि मोनाक पटेलले सर्वाधिक १०० रन बनाए जुन क्रममा ११४ बलमा ९ चौका र १ छक्का प्रहार गरे। करियरको पहिलो शतक बनाएका पटेल अमेरिकाको एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने जस्करन मलहोत्रा पछि दोश्रो ब्याट्सम्यान बनेका छन्। मलहोत्रा बाहेक अन्य अमेरिकी ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। निसर्ग पटेलले २१, करिमा गोरे र सुशान्त मोदानीले १६, स्टेभेन टेलरले १४, संजय कृष्णमुर्थी र अभिषेक परादकरले समान १३, जस्करन मलहोत्राले ११ रन बनाए।

नेपालको बलिंगमा बिक्रम सोब ( ६-०-३३-२ ), सन्दिप लामिछाने ( १०-२-३५-२ ) र सुशन भारिले ( १०-०-३१-२ ) समान २ विकेट लिए। कुशल मल्ल ( १०-०-४५-१ ) ले १ विकेट लिए। सोमपाल कामि ( ९-०-४४-० ) र करन केसी ( ५-०-४१-० ) विकेटविहिन रहे।

नेपालले सिरिज अन्तर्गत दोश्रो खेल आयोजक ओमान बिरुद्ध मंगलबार खेल्नेछ। खेल नेपाली समय ४:१५ बजे बेलुका सुरु हुनेछ।

प्रकाशित : २०७८ भदौ २८ गते २३:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI