राष्ट्रिय जनगणना सुरू : थाहापाई राख्नुहोस सुपरीवेक्षकले तपाईको घरमा बोकेर आउने प्रश्नावली

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ३० गते १९:०४
राष्ट्रिय जनगणना सुरू : थाहापाई राख्नुहोस सुपरीवेक्षकले तपाईको घरमा बोकेर आउने प्रश्नावली

राष्ट्रिय जनगणना २०७८ अन्तरगत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरणको काम शुरु भएको छ । यो काम असोज १८ सम्म २० दिन सञ्चालन हुनेछ । यस अवधिमा करिब ७० लाख घरपरिवारको विवरण संकलन गर्न ८ हजार ५ सय जना सुपरीवेक्षक खटिएका छन् ।

तथ्यांक विभागका निर्देशक ढुण्डीराज नागहरेका अनुसार जनगणनाको स्थलगत सर्वेक्षणका दुई चरणमध्ये घर तथा घरपरिवार सूचीकरण पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा करिव ४० हजार गणकहरुले कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन घरघरमा पुगेर तथ्यांक संकलन गर्नेछन् । केन्द्रीय तथ्यांक विभागले सुपरीवेक्षकलाई ६ वटा जिम्मेवारी तोकेको छ । उनीहरुले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने, मोवाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सूचीकरण फारम भर्ने, सामुदायिक प्रश्नावली फर्म भर्ने र गणकको अनुगमन गर्नेछन् । सुपरभाइजरले सूचीकरण गरेका घरपरिवारमा दोस्रो चरणमा गणकहरु गएर तथ्यांक संकलन गर्ने नागहरेले बताए ।

देश विकासको मेरुदण्डको रुपमा रहेको जनगणनामा आउने सुपरीवेक्षक र गणकलाई सही तथ्यांक उपलब्ध गराउन तथ्यांक विभागले सबैमा आग्रह गरेको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नारा तय गरिएको यो राष्ट्रिय जनगणनामामा आम नागरिकहरूको अपनत्व र सहभागिताका विभागले अनुरोध गरेको छ ।

 

गणनामा घररिवारमा गएर सोधिने प्रश्नहरु–

१. तपाईको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरुको संख्या कति छ ?

२. तपाई बसोबास गर्नुभएको घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ ?

३. तपाईले उपभोग गरेको कृषियोग्य जग्गा जमिन र परिवारले पालन गरेको पशुपन्छीहरुको संख्या कति छ ?

४. तपाईको परिवारले सरकारी अनुदान अन्तरगत आवासीय घर निर्माण गरेको छ छैन ?

५.तपाईंको घरमा कतिजना व्यक्तिको नाममा बैंक वा वित्तीय संस्थामा खाता छ ?

६.तपाईंको परिवारमा प्राविधिक तथा व्यावशायिक शिक्षा वा तालिम लिएका व्यक्ति कतिजना छन् ?

७.तपाईंको परिवारले बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएको छ ?

 

प्रकाशित : २०७८ भदौ ३० गते १९:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI