अमेरिकासँग नेपालको कमजोर प्रदर्शन, तोडियो जितको श्रृंखला

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २ गते ८:१६
अमेरिकासँग नेपालको कमजोर प्रदर्शन, तोडियो जितको श्रृंखला

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकेटमा नेपालको अमेरिकामाथिको जितको श्रृंखला तोडिएको छ । लगातार तेस्रो जित निकालेको नेपालले शुक्रबार राति भएको खेलमा भने पराजय भोगेको छ । ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग पराजित भएको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १७५ रनको सामान्य लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रन बनाए । उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । यस्तै मोनान्क पटेलले नटआउट ३८ तथा जस्करण मल्होत्राले नटआउट ३६ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए ।

नेपालको इनिङ्स 
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । उनले १०५ बलमा ३ चौका प्रहार गरे । उनी एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् । मल्लले ३६६ रन बनाएका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले बनाएको ३१५ रनको रेकर्ड थियो ।

यस्तै ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए ।

अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले ४ तथा केली फिलिपले ३ विकेट लिए ।

यस जितसँगै अमेरिकाले नेपालविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिएको छ । गत सोमबार भएको पहिलो भेटमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।

त्यस्तै नेपालमा भएका दुवै खेलमा नेपालले अमेरिकालाई हराएको थियो ।

सिरिज समीकरण
नेपालको यो लगातार दोस्रो हार हो । यसअघि बिहीबार भएको खेलमा नेपालले ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो । अमेरिकाको भने पहिलो जित हो ।

अब नेपालले आइतबार ओमानसँग अन्तिम खेल खेल्नेछ । सिरिजको अन्तिम खेलमा अमेरिकाले पनि सोमबार ओमानसँग खेल्नेछ ।

ओमानले यसअघिका दुवै खेल जितेको छ ।

लिग–२ अंक समीकरण
नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

८ खेलबाट ९ अंकको स्कटल्याण्ड तेस्रो, ७ खेलबाट ८ अंकको नामिबिया चौथो, ७ खेलबाट ७ अंकको युएई पाँचौं र ८ खेलबाट अंकविहीन पपुवा न्यूगिनी पुछारमा छ ।

शीर्षँ तीन राष्ट्रले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउने छन् ।

प्रकाशित : २०७८ असोज २ गते ८:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI