चितवनका दुई पालिकामा कांग्रेसको चुनाव हुँदै, महानगर सभापतिमा पाँच प्रतिस्पर्धी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १० गते ११:२८
चितवनका दुई पालिकामा कांग्रेसको चुनाव हुँदै, महानगर सभापतिमा पाँच प्रतिस्पर्धी

चितवन। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका सातमध्ये दुई पालिकाको नगर सभापतिका लागि आइतबार निर्वाचन हुँदैछ। पाँच पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ।

पाँचमध्ये तीन पालिकामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका र दुई पालिकामा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार निर्वाचित भएका छन्।

भरतपुर महानगरपालिका र रत्नननगर नगरपालिकामा आज निर्वाचन भइरहेको छ। महानगर नगर सभापतिका लागि मात्रै पाँचजना प्रतिस्पर्धी छन्। एउटै पदमा धेरै प्रतिस्पर्धी भएको र मतदाता पनि धेरै भएकाले मतदानमा ढिलाइ भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए। निर्वाचन तालिकाअनुसार शनिबार नै सबै गाउँ/नगरको निर्वाचन हुनुपर्ने थियो।

महानगर नगर सभापतिमा चित्रसेन अधिकारी, भरत अधिकारी, अर्जुन रिजाल, बचन कार्की र हिरामणी अधिकारी निर्वाचनमा भिड्दै छन्। मत परिणाम आजै साँझ सार्वजनिक हुने जोशीले बताए।

चित्रसेन, भरत र अर्जुन पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने बचन र हिरामणि देउवा पक्षका हुन् । चित्रसेन भरतपुर-२१ का वडाध्यक्ष हुन् । बचन कार्की नेविसंघका नेता हुन्। भरत अधिकारी कांग्रेस महानगरका वर्तमान सभापति हुन्।

नगर उपसभापतिमा किशोर गुरुङ, कृष्णप्रसाद रेग्मी, केदारनाथ बराल, गीताकुमारी शर्मा, देवीप्रसाद लुइँटेल, विजय घले, बुद्धिकान्त न्यौपाने, शारदाकुमारी खरेल र सुरक्षा रेग्मी गरी नाैजनाले उम्मेदवारी दिएका छन्। सचिवमा सात र सहसचिवमा आठजना उम्मेदवार छन्।

त्यसैगरी, रत्ननगरमा देउवा पक्षका प्रल्हाद सापकोटा र पौडेल पक्षका रुपन पौडेलबीच प्रतिस्पर्धा हुँदैछ। दुईजना उपसभापतिका लागि अपिल अधिकारी, कमलनाथ अधिकारी, केदारमान वाइवा र शिवकान्त पौडेलले उम्मेदवारी दिएका छन्। दुई-दुईजना सचिव र सहसचिव पदका लागि चार-चारजनाको उम्मेदवारी परेको छ।

पाँच पालिकाको मतपरिणाम सार्वजनिक

कांग्रेस खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ, राप्ती नगरपालिकामा देवेन्द्र लामा, कालिका नगरपालिकामा दिपेश्वर केसी, माडी नगरपालिकामा कमलनाथ भुसाल र इच्छाकामना गाउँपालिकामा कृतिकुमार श्रेष्ठ विजयी भएका छन्।

खैरहनी नगर सभापतिमा निर्वाचित श्रेष्ठ देउवा पक्षका हुन्। उनले पौडेल पक्षका शशि खनियाँलाई तीन मतले पराजित गरेका हुन्। खनियाँ वर्तमान नगर सभापतिसमेत हुन्।

नगर उपसभापतिमा प्रेमप्रसाद रेग्मी र विक्रम पन्जियार, सचिवमा अनुप अधिकारी र टिकादत्त इटनी र सहसचिवमा राजेन्द्र रिजाल र अमृता उप्रेती निर्वाचित भए।

राप्ती नगर सभापतिमा निर्वाचित लामा पनि देउवा पक्षका हुन् । उनले ४० मतले आफ्ना प्रतिस्पर्धी नारायण उप्रेतीलाई पराजित गरेका हुन्। नगर कार्यसमितिमा लामाको प्यानलै विजयी भएको छ।

उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे, सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल, सहसचिवमा मनोज तामाङ र सारा प्रजा निर्वाचित भए।

कालिका नगर सभापतिमा जिल्ला पार्टी सभापति जीतनारायण श्रेष्ठ निकटका दीपेश्वर केसी निर्वाचित भए। जिल्ला पार्टी सभापति श्रेष्ठ प्रकाशमान सिंह निकटका नेता मानिन्छन्। केसीले अर्का उम्मेदवार लिलाबहादुर गुरुङलाई तीन मतले पराजित गरे।

माडी नगरसभापतिमा रामचन्द्र पौडेल पक्षका कोमलनाथ भुसाल निर्वाचित भए। उनले खेम महतोलाई तीन मतान्तरले पराजित गरे। नगर उपसभापतिमा गणेश पौडेल र मायानाथ अधिकारी, सहसचिवमा इन्द्रप्रसाद चापागाई र दीक्षा भट्टराई निर्वाचित भए। नगर सचिवमा लोकनाथ लामिछाने र कपिल अधिकारी सर्वसम्मत चयन भए।

इच्छाकामना गाउँ सभापतिमा जिल्ला पार्टी सभापति निकटका कृतिकुमार श्रेष्ठ निर्वाचित भए। कांग्रेस गाउँ सभापतिमा निर्वाचित श्रेष्ठ गाउँपालिकाका उपाध्यक्षसमेत हुन्।

उनले अर्का उम्मेदवार विष्णु कुँवरलाई चार मतले पराजित गरे। गाउँ उपसभापतिमा दीपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र सहसचिवमा उत्तरकुमार गुरुङ र सुधीरबाबु अधिकारी विजयी भए।

प्रकाशित : २०७८ असोज १० गते ११:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI