यो वर्ष मनसुन लम्बिने, कहिले बाहिरिन्छ मनसुनी प्रणाली ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १४ गते ९:०१
यो वर्ष मनसुन लम्बिने, कहिले बाहिरिन्छ मनसुनी प्रणाली ?

काठमाडौं । पाँचवटा प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

देशभरी मौसममा बदली हुने मौसमविद् समीर श्रेष्ठ बताउँछन् । काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको छ । “काठमाडौंमा पनि आज वर्षा हुने छ । दिउँसो मेघ गर्जनसहित वर्षा हुने छ,” मौसमविद् श्रेष्ठले भने, “हल्कादेखि मध्यम वर्षा हुने छ, भारी वर्षाको सम्भावना भने छैन ।”

यो, वर्ष मनसुन औसतभन्दा केही पछिसम्म सक्रिय हुने भएको छ । सामान्यतः  नेपालमा अक्टोबर २ बाट मनसुन बाहिरिन्छ । यो वर्ष औसत निर्धारण गरिएको समयमा मनसुन बाहिरिने सम्भावना नदेखिएको मौसमविद् समीर श्रेष्ठ बताउँछन् ।

“हामीले औसत रुपमा निर्धारण गरिएको समयमा यो वर्ष मनसुन बाहिरिने अहिलेसम्मको मौसमी प्रणाली हेर्दा देखिएन,” उनी भन्छन्, “अक्टोबर २ बाट मनसुन बाहिरिन्छ भन्ने औसत निर्धारण गरिएको समय हो । तर, यो वर्ष केही समय पछिसम्म मनसुन सक्रिय रहने भएको छ ।”

कति समय पछिसम्म मनसुन सक्रिय रहने त्यो भने यकिन गर्न नसकिने उनको भनाइ छ । अक्टोबरबाट पछि कम्तीमा पनि तीन दिन भने मनसुन सक्रिय नै हुने उनी बताउँछन् । त्यसपछि कतिसमयसम्म रहन्छ त्यो भने आंकलन गर्न नसकिने श्रेष्ठको भनाइ छ ।

मनसुन बाहिरिने क्रममा भारी वर्षाको सम्भावना पनि रहने उनले बताए । “मनसुन बाहिरिने क्रममा भारी वर्षा पनि हुन सक्छ । तर, अहिले नै भारी वर्षा हुन्छ÷हुँदैन त्यो भने भन्न सकिँदैन,” मौसमविद् श्रेष्ठ भन्छन्, “तर, यो तीनदिन भने भारी वर्षाको सम्भावना छैन ।” अहिलेको मौसमी प्रणाली अध्ययन गर्दा हल्कादेखि मध्यम वर्षा हुने उनले जानकारी दिए ।

प्रकाशित : २०७८ असोज १४ गते ९:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI