ओमकली अर्थात् एकैचोटी ५ दर्जन केरा खाने वृद्धा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १५ गते १३:३२
ओमकली अर्थात् एकैचोटी ५ दर्जन केरा खाने वृद्धा

गुल्मी । अहिले देशभर नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चटारो छ । स्थानीय तहमा पार्टीका कार्यकर्ताहरु महाधिवेशनले बेफुर्सद छन् । त्यहीँ अधिवेशनमा गुल्मी भरभुुङ्ग गाउँकी ७५ बर्षीया ओमकली अर्याल भेटिइन् । उमेरले डाँडा नाघ्दै गरेकी उनी भेटमा आफू पनि महाधिवेशन बैठकमा जान लागेको बताइन् ।

७ वर्षको कलिलो उमेरमा विवाह भएको उनको कथा व्यथा भने छुट्टै रहेछ । उनीसँग भेट भएपछि प्रश्न गरियो ‘आमा कहाँ जान लाग्नु भयो ?’ उनले भनिन्, ‘आज कांग्रेसको बैठक छ त्यहीँ जान ला’कि छु ।’

हातमा मोबाइल बोकेर उनी अधिवेशनमा सहभागी हुन हतारिँदै गएजस्तो देखिन्थ्यो । उनीसँग कुरा गर्न खोज्दा हतार भएको बताइन् । उनीसँगको व्यस्त समयका बाबजुद गन्थन गर्नका लागि थोरै समय मागियो । अनि उनले छोटकरीमा आफ्ना कथा सुनाउन थालिन्–

म ७ वर्षकी थिएँ । मेरा मालिक (श्रीमान) २२ बर्षका हुनुहुन्थ्यो । विवाह हो कि खेल्न गएको केही भेउ पाउँदिन थिएँ । मालिकको घर पुगेर खेल्थे । श्रीमानलाई मालिकराजा भनेर बोलाउँथे ।

मेरो छोरा र चार छोरी छन् । म ६ सन्तानकी आमा हुँ । अहिलेसम्म बिरामी भएर अस्पताल गएको छैन । औषधिका नाममा सिटामलसमेत खान परेको छैन ।

अस्ती तपाईलाई कोरोना लागेको छ भनेर फोन गरे । मैले बेस्सरी गाली गरे । मलाई के को कोरोना लागोस्, अहिलेसम्म ज्वरो आएर सुतेकी सम्म छैन भनेर हप्काए ।

ओमकलीका निजी कुराहरु सुनेपछि गाउँमा उनले ६५ वटा केरा खाने वृद्धाका रुपमा चिनिन्छ भनेर प्रश्न गरियो । उनलाई गाउँमा एकैसाथ ५६ वटा केरा खाने वृद्धाका रुपमा चिनिन्छ ।

आमा ५६ कोसा केरा एकै साथ खाँदा केहि भएन तपाईलाई ? उनले भनिन्,‘केरा पनि साना हुन र यत्रा यत्रा (हातले देखाउँदै) बडेमानका ५६ कोसा केरा मैले एकैदिनमा एकैचोटी भस्म पारेकै हो, पड्काएकै हो, खाएकै हो ।’

यसैगरी उनको अर्काे दुःखको पाटो पनि रहेछ । जेठी छोरीको बच्चा ६ महिनाको हुँदा छोरीको मृत्यु भयो । बच्चालाई स्तनपान गराउन पर्दथ्यो । र, उनले छोरीको बच्चालाई स्तनपान गर्नका लागि त्यत्ति धेरै केरा खाएको बताइन् ।

बु्ढ्यौँली उमेर । दाँत झरेका छन् । तर, उनको जोश र जाँगर बूढो भएको छैन । यो उमेरमा पनि उनी पार्टीको काममा सक्रिय भई लागिपरेकी छन् । अहिले उनको घरमा एउटी बुहारी छ । र, उनी पार्टीका कामसँगै नाति नातिनीसँग रमाउने गरेको बताउँछिन् ।-news24

प्रकाशित : २०७८ असोज १५ गते १३:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI