साफ च्याम्पियनसिप फुटबल : नेपालको विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १५ गते २३:४८
साफ च्याम्पियनसिप फुटबल : नेपालको विजयी सुरुवात

काठमाडौं – युवा फरवार्ड मनिष डाँगीको सानदार गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ । पहिलो खेलमा १-० को जित दर्ता गर्दै नेपालले ३ अंक जोडेको छ ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक सावित भयो । उनले काउन्टर अट्याकमा आएको आक्रमणलाई अघि बढाउँदै गोल गरेका थिए । तीन डिफेन्डरको चुनौती काट्दै उनले गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।

खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन र आक्रमणमा पकड जमाएपनि नेपाली टोलीले अनुशासित डिफेन्स गर्दै खेलमा आफूलाई कायम राखेको थियो । काउन्टर अट्याकमा समय समयमा माल्दिभ्सलाई समस्या दिएको नेपालले अन्तिम समयमा गोल पनि सोहि रणनीतिमा गर्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले मिडफिल्डले दिएको बललाई तीन डिफेन्स काट्दै सुन्दर गोल गरेका थिए ।

त्यसअघि खेलको छैटौं मिनेटमा नै माल्दिभ्सले गोल गर्ने सुन्दर अवसर सिर्जना गरेको थियो । किरणले बायाँ विंगबाट आएको क्रस विफल पार्दा आएको रिबाउन्डलाई माल्दिभ्सका खेलाडीले प्रहार गरेपनि दीनेश राजवंशी त्यसमा बाधक बनेका थिए ।

खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको लामो दुरीको प्रहारलाई गोलरक्षक मोहमद फैसलले सहजै बचाए । १२ औं मिनेटमा नेपाल गोल गर्ने अवसरबाट चुक्यो । नवयुग श्रेष्ठको पासमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बललाई राम्रोसँग प्रहार गर्न नसक्दा अवसर खेर गएको थियो ।

१९ औं मिनेटमा अली फसिरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए । २३ औं मिनेटमा अन्जन विष्टको क्रसमा नवयुग श्रेष्ठको हेडर गोलरक्षक फैसलले विफल पारे । लगत्तै अर्को तर्फ माल्दिभ्सले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । नेपालको पेनाल्टी क्षेत्रभित्र माल्दिभ्सका तीन खेलाडीले एक आपसमा पास खेल्दै मुभ सिर्जना गरेपनि अन्तिम प्रहार भने हुन सकेन ।

२८ औं मिनेटमा अली फसीरको हेडर पोस्टभन्दा थोरै माथिबाट गएको थियो । ३३ औं मिनेटमा अली अश्फाकले काउन्टर अट्याकमा बढेको आक्रमणमा नेपालका दुवै सेन्टर डिफेन्सलाई बिट गरेपनि उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको अन्तिम प्रहार गोलरक्षक किरणले सहजै बचाए ।

दोस्रो हाफको सुरुवातमा नै तेज तामाङले लामो दुरीबाट गरेको प्रहारलाई गोलरक्षक फैसलले सहजै बचाए । ५६ औं मिनेटमा अन्जन विष्टले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको आक्रमण उनको क्रसमा बक्सभित्र कोहि नहुँदा असफल भयो ।

५९ औं मिनेटमा कप्तान किरण चेम्जोङले सुन्दर बचाउ गर्दै खेल बराबरीमा कायम राखे । बायाँ विंगबाट आएको फ्रिकिकमा सामोह अलीको ६ यार्ड बक्सनजिकको हेडरलाई उनले विफल पारे । ६५ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिधै फैसलको हातमा पुग्यो ।

७६ औं मिनेटमा माल्दिभ्सको अग्रता लिने प्रयासमा कप्तान किरण पुन: बाधक बने । किरणले अली फसीरको ६ यार्ड बक्सनजिकको प्रहार विफल परेका थिए । जवाफी रिबाउन्डमा अश्फाकको प्रहार बाहिरीएपछि नेपालको लागि खतरा टरेको थियो । लगत्तै नाइज हासानको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

साफ च्याम्पियनसिपको पहिलो खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४-३-३ को रणनीतिमा उतारेका थिए । गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्दा सेन्टर डिफेन्समा अनन्त तामाङ र दीनेश राजवंशी तथा विंगब्याकमा सुमन अर्याल र गौतम श्रेष्ठ थिए । मिडफिल्डमा पुजन उपरकोटी र रोहित चन्दले रक्षात्मक भूमिका निर्वाह गर्दा तेज तामाङ सेन्टर मिडफिल्डमा थिए । आक्रमणमा सुजल श्रेष्ठ र अन्जन विष्टले नवयुग श्रेष्ठलाई साथ दिएका थिए ।

दोस्रो हाफको ६९ औं मिनेटमा नवयुगको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका थिए । ८२ औं मिनेटमा अन्जन विष्ट र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई मैदान प्रवेश गरेका थिए ।

यसआघ दिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले १-० को जित हासिल गर्दै ३ अंक जोडेको हो । बंगलादेशको जितमा टोपु बर्मनले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । श्रीलंकाका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले ५६ औं मिनेटमा पेनाल्टी दिएका थिए । खेलमा श्रीलंकाका दुक्सन पुस्लासले रातो कार्ड खाएका थिए ।

नेपालले हालसम्म साफको १२ संस्करणमा खेल्दा २ पटक मात्र पहिलो खेलमा जित हासिल गरेको इतिहास छ । नेपाल पछिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३-० ले पराजित भएको थियो ।-हाम्रो खेलकुद

प्रकाशित : २०७८ असोज १५ गते २३:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI