करेन्ट लागेर मर्‍याे काेशी टप्पु आरक्षकाे ‘मकुना’

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १७ गते १६:३८
करेन्ट लागेर मर्‍याे काेशी टप्पु आरक्षकाे ‘मकुना’

काठमाण्डाै – कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले मकुना करेन्ट लागेर मरेको पुष्टि गरेको छ ।

आरक्षका संरक्षण अधिकृत अशोक रामले चरनका क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेन्ट लागेर मरेको बताउनुभयाे । संरक्षण अधिकृत रामका अनुसार हात्ती आज आइतवार विहान मृत भेटिएको थियो ।

आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताउनुभयाे । उहाँले मकुना स्थानान्तरणको कुरा चलिरहँदा मृत्युको खबर दुःखद भएको बताउनुभयाे ।

आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर सदगदको तयारी थालिएको जनाएको छ । केही हप्ताअघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो । जसका लागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेवारी दिइएको थियो ।

मकुना जङ्गली हात्ती भए पनि रैथानेका रूपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो । मकुना हात्तीसारमा रहेका हात्तीको अभिभावकका रूपमा समेत रहेको थियो । मकुना आरक्षमा रहेका जङ्गली हात्तीको नाइके पनि थियो । आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाइ गर्ने गर्थ्यो ।

मकुनाको आक्रमणमा परि सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो । मकुनाले सुनसरी र सप्तरीतर्फका दर्जन बढीको ज्यान लिएको थियो ।

प्रकाशित : २०७८ असोज १७ गते १६:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI