सीमित स्रोतबीच प्रहरीले खेलेको भूमिका प्रशंसनीय : मुख्यमन्त्री नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २० गते १९:१०
सीमित स्रोतबीच प्रहरीले खेलेको भूमिका प्रशंसनीय : मुख्यमन्त्री नेपाली

पोखरा, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत साधनका बाबजुद पनि हरेक क्षेत्रमा नेपाल प्रहरीले उदाहरणीय काम गर्दै आएको बताएका छन् । ‘६६ औं प्रहरी दिवस’ का अवसरमा बुधबार प्रदेश प्रहरी कार्यालय गण्डकीले गरेको विशेष समारोहमा उनले स्थापनाकालदेखि नै प्रहरीले जनताको हक अधिकार स्थापित गराउन, शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

जहानीया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षरत मुक्ति सेनालाई २००७ सालको परिवर्तन पछि नेपाल प्रहरीका रुपमा बनाइएको स्मरण गर्दै उनले २०१२ सालमा आएर बल्ल प्रहरी ऐन आएको बताए । जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा तल्लीन रही कार्यसम्पादन गर्दै आइरहेको प्रहरी संगठनले आगामी दिनमा समेत जनतालाई नै केन्द्र बिन्दुमा राखी कार्यसम्पादन गर्नुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे ।

कार्यक्रमका मुख्यमन्त्री पोखरेल र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले संयुक्त रुपमा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरी अमर प्रहरीप्रति श्रद्धासुमन प्रकट गरे ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले विविध आरोह–अवरोहका बीच नेपाल प्रहरीको शीर सदैव उच्च र अटल बनाई राख्न आफ्नो कर्तव्य पथमा सदा कर्मशील रहँदै आएको बताए । संगठनका खातिर देश र जनताको पक्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर अमर प्रहरीहरु प्रति उनले हार्दिक श्रद्धासुमन व्यक्त गरे ।

डिआइजी लोहनीले प्रहरी दिवसलाई समस्त प्रहरी कर्मचारीहरुले आ–आफ्नो कार्य प्रेरणा दिवसको रुपमा आत्मसाथ गर्दै बिगत वर्षहरुमा भएगरेका कार्यहरुको मूल्यांकन एवं आत्मसमिक्षा गरी आगामी दिनहरुमा आफ्नो जिम्मेवारी अझै प्रभावकारी, विश्वासिलो एवं नागरिकमैत्री र सशक्त ढंगबाट निर्वाह गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र तथा नगद रकम प्रदान गरिएको छ । प्रहरी कार्यमा सहयोग पु¥याउने विभिन्न संघ संस्था, व्यक्तित्व, उत्कृष्ट जिल्ला प्रहरी कार्यालय तर्फ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, ट्राफिक व्यवस्थापन, विपद उद्दार लगायत विविध प्रहरी गतिविधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत नगद पुरस्कार तथा कदर पत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको शुभकामना सन्देश वाचन गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. दामोदर रेग्मी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा. डुककबहादुर क्षेत्री, गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता रोहितराज बास्तोला, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरु, अमर प्रहरी परिवारहरु, पूर्व प्रहरी संगठनका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, पत्रकार लगायत विभिन्कन कार्यालयका प्रहरी कर्मचारीको सहभागिता थियो ।

प्रकाशित : २०७८ असोज २० गते १९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI