नवरात्रिको तेश्रो दिन : माता भगवती चन्द्रघण्टाको पूजआजा गरिँदै, शक्तिपीठहरुमा घुँइचो

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २३ गते ८:२९
नवरात्रिको तेश्रो दिन : माता भगवती चन्द्रघण्टाको पूजआजा गरिँदै, शक्तिपीठहरुमा घुँइचो

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादशैँको आज तेस्रो दिन, भगवती माता चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै छ ।

नवरात्रिको तेस्रो दिन आज हिन्दू धर्मालम्बीहरूले देवी चन्द्रघण्टाको पूजा आराधना गर्दछन् । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा व्रत बस्ने गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ ।

देवी मन्दिर एवं शक्तिपीठहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ । यस दिन विशेषगरी राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा  हुने गर्छ ।

आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् ।

चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ । दशैंकै कारण राजधानी लगायत देशभरिका बजारहरुमा किनमेल गर्नेहरुको भीड लागेको छ ।

प्रकाशित : २०७८ असोज २३ गते ८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI