रातो माटो बेचेर दशैंखर्च जोहो गर्दै बाग्लुङ्गे किशोरी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २३ गते १०:०८
रातो माटो बेचेर दशैंखर्च जोहो गर्दै बाग्लुङ्गे किशोरी

नवीन शिशिर विक
बागलुङ । बागलुङ नगरपालिका– ३ की पूजा विकको दिनचार्य विगत एक साता यता मध्यपहाडी लोकमार्गमा बित्ने गरेको छ । दशैंमा घर पोत्ने रातो माटो बेचेर उहाँले दशैं खर्चको जोहो गरिरहनुभएको छ ।

विहान चिया खाजा खाएर हातमा कुटो र चामलका पोका लिएर साथीसँगै मध्यपहाडी लोकमार्गको मूलपानी खण्डमा पुग्नुहुन्छ । मध्यपहाडी लोकमार्ग बागलुङ–अक्षते खण्डको मुलपानीमा घर पोत्ने रातो माटो खन्ने र विक्री गरी केही आम्दानी भइरहेको बताउनुभएको छ ।

मुलपानी र तातोपानी क्षेत्रका केही किशोरीहरुले माटो बेचेर दशैंलाई खर्च जुटाउन थाल्नुभएको छ । विगतमा आमाहरुले गर्ने काम अहिले किशोरीहरुले गर्दै आउनुभएको छ । पहिले–पहिले धान, चामल र आलुसँग विनियम हुन्थ्यो । अहिले नगदमा माटो बेचिनेगरेको उहाँहरुको भनाई छ ।

दशैंमा घर पोत्नेका लागि आवश्यक रातो माटो लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले खरिद गरेर लैजाने गरेपछि पूजासँगै स्थानीय पाँच छ जना किशोरीहरु सामूहिक रुपमा माटो बिक्री गरे दशै खर्चको जोहो गर्न थाल्नुभएको हो । विगत दुई तीन बर्षदेखि माटो बेचेर केही नगद आम्दानी गरिरहेको स्थानीय अविसा सुनारले बताउनुभयो ।

“कसैले माटो खन्ने, कसैले ढुङ्गा चाल्ने र कसैले उठाएर बोरामा राख्ने गरी कामको बाँडफाँड गर्छौं” सुनारले भन्नुभयो । एक जनाको भागमा दैनिक एक हजार रुपियाँदेखि एक हजार पाँच सय रुपियाँसम्म पर्नेगरेको उहाँको भनाइ छ ।

रातो माटो मुलपानी आसपास, सिगाना, तित्याङको साथै काठेखोला, गलकोट, ताराखोला, बडिगाड, ढोरपाटन, तमान, निसीसम्मका यात्रुले खरिद गरेर लैजाने गरेको किशोरीहरुले जानकारी दिनुभयो । ‘दशैंमा एक जोड लुगा फेर्न र मिठो मसिनो खानलाई पैसा हुन्छ’ सुनारले भन्नुभयो, ‘छोटो समयमा राम्रो आम्दानी भएपछि माटो बेच्ने गरेका छौँ ।’

प्रकाशित : २०७८ असोज २३ गते १०:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI