मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २४ गते १०:५३
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिदै

काठमाडौं । आज (आइतबार) बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसका लागि प्रदेशसभाको नवौँ अधिवेशन बोलाइएको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आज (२४ असोज) प्रदेशसभाको नवौँ अधिवेशन बोलाउने निर्णय गरेको थियो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेका अनुसार आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै हुनुहुन्छ ।

पार्टी विभाजनसँगै बागमती प्रदेशमा एमालेका १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा पर्नुभएको छ । दल विभाजन भएको मितिले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीबमोजिम शाक्यले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले गत भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोह गर्नुभएको थियो ।

वाग्मती प्रदेशमा सभामुखसहित १ सय ९ सांसद छन् । हाल प्रदेशसभामा एमालेका ४३ सांसद मात्र छन् । सरकार टिकाउन शाक्यलाई ५५ मत आवश्यक पर्छ । हाल विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादी १३ र जनता समाजवादीको १ मत गरी ५९ जना सांसदले शाक्यलाई विश्वासको मत नदिने र नयाँ सरकार घोषणा गरिसकेका छन् ।

३ मत रहेको विवेकशील साझा पार्टीले यो सरकारलाई विस्थापित गर्न विश्वासको मतको विपक्षमा मतदान गर्ने घोषणा गरिसकेको छ । यत, गठबन्धनले भने विवेकशील साझालाई पनि आफ्नो पक्षमा ल्याउने प्रयास गर्दै आएको छ ।

प्रकाशित : २०७८ असोज २४ गते १०:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI