नेपालको फिफा वरियता खस्कियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ५ गते १०:०३
नेपालको फिफा वरियता खस्कियो

काठमाडौं – फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ । यसअघि भदौ ३१ (सेप्टेम्बर १६) को वरियतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो ।

गत साता सम्पन्न साफ च्याम्पिनसिपमा नेपालले ५ खेल खेलेको थियो । जसमा २ जित, १ बराबरी र २ खेलमा हार बेहोरेको थियो । त्यसअघि भदौमा स्वदेशमा भारतविरुद्ध भएको २ मैत्रीपूर्ण खेलमा नेपालले एउटा बराबरी र अर्कोमा हार बेहोरेको थियो । भदौ १७ गते १–१ को बराबरी खेलेको भदौ २० गते २–१ ले पराजित भएको थियो ।

साफ च्याम्पिनसिपमा पनि भारतसँगै नेपाल फाइनलसहित दुई पटक पराजित भएको थियो । असोज ३० गते फाइनलमा ३–० को हार बेहोरेको भारतसँग नेपालले त्यसअघि राउन्ड रोविनअन्तर्गत असोज २४ गतेको खेल १–० ले गमाएको थियो । असोज १५ मा माल्दिभ्सलाई १–०, असोज १६ मा श्रीलंकालाई ३–२ ले हराएको नेपालले असोज २७ गते बंगलादेशसँग १–१ को बराबरी गरेको थियो ।

साफ च्याम्पियनसिप विजेता भारत दक्षिण एसियामा शीर्षस्थानमा कायम छ । गत महिना भन्दा भारतको वरियता एक स्थान सुधार भएको छ । भारत एक सय छैटौं स्थानमा पुगेको छ । दक्षिण एसियाका अन्त राष्ट्रमध्ये माल्दिभ्स नेपाल भन्दा माथि १ सय ५६ औं, भुटान एक सय ८६ औं, बंगलादेश एक सय ८७ औं, पाकिस्तान एक सय ९७ औं, श्रीलंका २ सय चार स्थानमा रहेको छ । पाकिस्तान र भुटानबाहेक ५ राष्ट्रले माल्दिभ्समा भएको साफ च्याम्पिनसिपमा भाग लिएका थिए ।

फिफा डटकमका अनुसार विश्व वरियतामा बल्जियम शीर्षस्थान र ब्राजिल दोस्रो स्थानमा कायम रहेका छन् । फ्रान्स तेस्रो र इटाली चौथो स्थानमा उक्लदा इग्ल्यान्ड पाँचौं स्थानमा झरेको छ । अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दसौं स्थानमा रहेको छ ।

प्रकाशित : २०७८ कार्तिक ५ गते १०:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI